नक्कली प्रशिक्षार्थी परिचालन गर्ने ६ इन्सटिटुटको पहिचान खुल्यो : फरार सञ्चालकको खोजी हुँदै

बेलबारीमा परीक्षा केन्द्र सुरक्षित 


बेलबारी । एसईई परीक्षा दिन नक्कली प्रशिक्षार्थी परिचालन गर्ने ६ इंस्टीट्यूटको पहिचान गर्न प्रहरी सफल भएको छ । सुनसरीको ४ र मोरङको २ वटा इंस्टीट्यूटले नक्कली प्रशिक्षार्थी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता नायव उपनिरीक्षक रन्जन दाहालका अनुसार सुनसरीको धरानमा रहेको डल्फिन, युनिक इंस्टीट्यूट, पेसेफिक इंस्टीट्यूट, टेरेसा इंस्टीट्यूट, मोरङको पगरी शनिश्चरे नागरपालिका स्थित बुद्ध चौकमा रहेको एम.एन.पूर्वाञ्चल आइटी कलेज र उर्लाबारीको गुणहुल एडुकेशन हबले नक्कली प्रशिक्षार्थी परिचालन गरेको अनुसन्धानबाट खुलेको छ । इंस्टीट्यूटका एक सञ्चालक पक्राउ परिसकेको र अन्यको खोजी कार्य भइरहेको प्रवक्ता दाहालले जनाएका छन् ।

प्रहरीले ४ दिन अघि एसईई परीक्षा दिने क्रममा २०० जना विद्यार्थी नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा ५ जना वास्तविक विद्यार्थी हो भन्ने खुले पछि इलाका प्रहरी कार्यालय बेलबारीले वास्तविक ५ विद्यार्थीलाई भने परिवारलाई बुझाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख निरीक्षक उदय शम्सेर ज.ब.राले बताए ।

पक्राउ गरेका नक्कली प्रशिक्षार्थी माथि अनुसन्धानको लागि १० दिन म्याद थप गरिएको छ । मोरङको ५ विद्यालयबाट पक्राउ परेका १९५ नक्कली प्रशिक्षार्थीको म्याद थप गरिएको हो । प्रहरीले ग्रामथान गाउँपालिकाको सरस्वती मा.वि झोराहाटबाट ५२ जना, सुन्दरहरैँचा नगरपालिकाबाट २१ जना । केराबारी गाउँपालिकाको सार्वजनिक मा.विबाट १२७ जना विद्यार्थी पक्राउ परेका थिए । १९५ मा १२६ जना पुरुष र ६९ जना महिला रहेका छन् । उक्त नक्कली प्रशिक्षार्थीले पैसाको प्रलोभनमा इन्सटिटुटको योजना अनुसार परीक्षा दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

बेलबारीमा परीक्षा केन्द्र सुरक्षित

ग्रामथान गाउँपालिका, सुन्दरहरैँचा नगरपालिका र केराबारी गाउँपालिकाको परीक्षा केन्द्र विद्यालयबाट सयौँको संख्यामा नक्कली प्रशिक्षार्थी पक्राउले प्रदेशै तरङ्गित हुँदा बेलबारीमा भने आनन्द परीक्षा भइरहेको थियो । छिमेकी पालिकामा घटेको घटना बेलबारीमा पनि हुन सक्थ्यो तर नगरपालिकाले सबै जोखिमलाई ध्यानमा राखेर विद्यालय केन्द्रमा सि.सि क्यामरा जडान गराएको थियो ।

सो कार्यले परीक्षामा कुनै पनि समस्याबाट प्रशिक्षार्थी प्रभावित हुनु परेन । नगरपालिकाले सि.सि क्यामरा जडा गर्दा केही आलोचना भने खेप्नु परेको थियो । तर नक्कली प्रशिक्षार्थी पक्राउ प्रकरणले नगरपालिकाको निर्णय ठिक प्रमाणित भएको छ ।

एसईई परीक्षामा हुने कुनै पनि लापरबाहीले विद्यार्थीको भविष्यसँगको खेलबाड हुने बेलबारीका नगर प्रमुख दिल प्रसाद राई बताउँछन् । त्यसैले कुनै लापरबाही छुट नहुने राई बताउँछन् । राईको शिक्षा क्षेत्रमा ३ दशक भन्दा लामो अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्