राजकुमारी तामाङ – कानेपोखरी । तराईका दक्षिणी भेगमा बसोबास गर्ने गरिबीका रेखामुनिका ऋषिदेव समुदायमा एकीकृत बस्ती निर्माण कार्य सुरु भएको छ । मोरङको कानेपोखरी ३ राजगञ्जमा ऋषिदेव समुदायमा एकीकृत बस्ती निर्माण सुरु भएको हो ।
कानेपोखरी गाउँपालिका,हयाबिट्याट नेपाल फर ह्युमानिटी नेपाल र साहारा नेपालको त्रिपक्षीय साझेदारीमा निर्माण सुरु गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामले एक घरको शिलान्यास गर्दै बस्ती निर्माण कार्यको शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले “अब कालोपत्रे बाटोघाटो मात्र विकासको काम नभएर मानिसको पहिलो अति आवश्यकता सुरक्षित बसोबास पनि रहेकाले यो कार्यको थालनी गरिएको बताउनुभयो । ” गाउँपालिकाका अति गरिब, विपन्न परिवार कोही पनि घरबार विहीन हुन नपर्ने र त्यसको व्यवस्था स्थानीय सरकारले गर्ने उहाँको भनाई छ ।
यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले भन्नुभयो । “गाउँपालिका आफैले जग्गा खरिद गरी एकीकृत बस्ती निर्माण गर्ने सोच बनाएको थियो सुरुमा सफल भएनौ तर अहिले सफल भएर दुई नम्बर वडामा एक बिग्घा एक कट्ठा बाह्र धुर जग्गा लिएर छ वटा घर बनाइ सकेको र आठ वटा बन्ने क्रममा रहेका छन् । “सरकारको अनुभूति हेर्दै गरून् भनेर यस्ता समुदायलाई लक्षित गरी काम सुरु गरिएको छ ” उहाँले भन्नुभयो ।
एकीकृत बस्ती निर्माण अन्तरगत ३ कोठा १ शौचालय सहितको ३० घर गर्न लागिएको हो । जसमा कानेपोखरी गाउँपालिकाको ६६ लाख ४५ हजार ९ सय ९० , ह्याबिटेट फर ह्युमानिटी नेपालको ६० लाख र उपभोक्ताको तर्फबाट २५ लाख ९० हजार १ सय ४० रुपैयाँ गरी कुल १ करोड ५२ लाख३६ हजार १ सय ३० रुपैयाँ लागतमा निर्माण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । सो कार्यक्रम सुरक्षित आवास निर्माण परियोजना अन्तर्गत हुन लागेको हो ।