काठमाडौं । अर्बपति इलन मस्कले चर्चित सामाजिक सञ्जाल ट्विटरको स्वामित्व लिइसकेपछि यसको नियम तथा फिचरका विषयमा बेलाबेलामा फेरबदल गरिरहन्छन् । कहिले रकम तिरेर जोसुकैले पनि ब्लूटिक पाउने कुरा होस् या शुल्कको कुरा । मस्क ट्विटरको विषयलाई लिएर बेलाबेलामा चर्चासँगै ट्रोल पनि बनिरहेका छन् ।
यति बेला भने उनी ट्विटरको लोगोको विषयलाई लिएर चर्चामा छन् । गत सोमबार मस्कले ट्विटरको ‘ब्लूबर्ड’ लोगोलाई परिवर्तन गरी कुकुरको फोटो राखेका थिए । एक्कासि ट्विटरको लोगोमा आएको परिवर्तनका कारण प्रयोगकर्ता अचम्मित त भए नै मालिक मस्कको आलोचनासम्म पनि गर्न भ्याए ।
उनै मस्कले आज शुक्रवार पुनः कुकुर हटाएर ‘ब्लूबर्ड’ फिर्ता गराएका छन् । यता, कुकुरको लोगो हटाउने बित्तिकै क्रिप्टोकरेन्सी ‘डोजक्वाइन’ को भाउमा भने भारी गिरावट आएको छ । पछिल्लो २४ घण्टामा डोजक्वाइनको भाउ करिब ९ प्रतिशतले घटेको हो । यसअघि ‘शिवा इनु’ प्रजातिको उक्त कुकुर ट्विटरको नयाँ लोगोको रूपमा प्रयोग भएपछि ‘डोजक्वाइन’ को भाउ करिब २५ प्रतिशतले बढेको थियो ।
ट्विटरको लागोको रूपमा प्रयोग भएको सोही कुकुर क्रिप्टोकरेन्सी डोजक्वाइनको लागोको रूपमा पनि प्रयोगका कारण यसको भाउमा प्रभाव परेको हो। गत वर्ष ट्विटरको जिम्मेवारी लिएका अर्बपति इलन मस्क लामो समयदेखि डोजक्वाइनको पक्षमा रहँदै आएका छन् ।
मस्कले एक पटक डोजक्वाइन लेनदेन वा कारोबारका लागि बिटक्वाइन भन्दा राम्रो भएको समेत बताएका थिए । तसर्थ, डोजक्वाइन मस्कसँग जोडिने बित्तिकै यसको भाउमा उतारचढाव हुने गरेको छ । मस्कले अब यही नै लोगो आधिकारिक बनाएर राख्छन् या पुनः परिवर्तन गर्छन् यसबारे भने केही पनि खुलाएका छैनन् ।