काठमाडौं । कोशी प्रदेशको नाम खारेजीको आन्दोलनको क्रममा मृत्यु भएका पदम (लाजेहाङ) लिम्बूलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज (शुक्रवार) बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए ।
लिम्बु कोशी प्रदेशको नाम खारेजीको लागि चैत ५ गते विराटनगरमा भएको विरोध जनप्रदर्शनको क्रममा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा चैत १० गते निधन भएको थियो ।
४२ वर्षीय लाजेहाङ ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को घटक दल सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको सचिवालय सदस्य एवम् यस मञ्च मातहत लिम्बुवान भोलेन्टियर्स (एल.भी.) का केन्द्रीय सह–कमान्डर थिए ।
बुबा छत्र बहादुर लिम्बु र आमा धनमाया लिम्बुको कोखबाट वि.स. २०३७ साल कात्तिक १७ गते तेह्रथुम जिल्लाको साब्लामा जन्म भई मोरङ जिल्लाको बेलबारी लालभित्तिमा हुर्किबढी हाल धरानमा बसोबास गर्दै आउनु भएका लाजेहाङ लिम्बु ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को घटक दल स.लो.रा. मञ्च – सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चको स्थापना काल २०६२ देखि नै अति सक्रियताका साथ लिम्बुवान आन्दोलनमा होमिएका थिए ।