सुन्दरहरैँचा वडा नं.१२ मा बाटो नम्बरिङ कार्यको निरन्तरता


सुन्दरहरैँचा । सुन्दरहरैँचा वडा नं.१२ ले बाटो नम्बरिङ कार्यको थालनी गरेको छ । गत आर्थिक वर्षदेखि सुरु भएको बाटो नम्बरिङ कार्यले यस आर्थिक वर्ष पनि निरन्तरता पाएको हो ।

सुन्दरहरैँचा नगरपालिकाको २०७४ सालमा स्थानीयको पहिलो निर्वाचनद्वारा वडा नं.१२ मा रोशन ढकाल अध्यक्षमा निर्वाचित भएका थिए । पहिलो कार्यकालमा ढकालको नेतृत्वमा वडामा अधुरो रहेको वडाको विकास निर्माणका कामहरूलाई २०७५ मा पुनः ढकाल वडा अध्यक्षमा निर्वाचित भएसँगै पूर्ण गर्न निरन्तरता दिइरहेका छन् ।

वडा नं.१२ मा आज (सोमबार) नगरप्रमुख केदारप्रसाद गुरागाईँले बाटो नम्बरिङ कार्यको औपचारिक उद्घाटन गरेका छन् । उक्त उद्घाटन कार्यक्रममा सुन्दरहरैँचाको सर्वाङ्गीण विकासको लागि जनसहभागिता अनिवार्य चाहिने बताएका छन् । आर्थिक मन्दीसँगै देशनै जुझी रहेको बेला, सबै विकास निर्माणमा सम्भव भएसम्म कम लगानीमा सङ्ख्यात्मक रूपमा धेरै र गुणस्तर काम गर्न जनश्रमदानबाट मात्र सम्भव हुने गुरागाईँले बताए । उनले भने, ‘अब म पनि जनश्रमदान गर्न तपाईँहरूसँग सहभागी हुन्छु, तपाईँहरूले पनि जनश्रमदान गर्न आग्रह गर्छु ।’

२०७८ सालबाट सुरु गरेको बाटो नम्बरिङ कार्य दोस्रो कार्यकालको आफ्नो नेतृत्वमा सम्पन्न भइसक्ने वडा अध्यक्ष रोशन ढकाल बताउँछन् । बाटो नम्बरिङ कार्य सम्पन्न पश्चात् यात्रीहरूलाई बाटो पहिचान गर्न सहज हुने ढकालले बताए । भविष्यमा इन्टरनेटको सुविधाको प्रयोगबाट बाटो नम्बर र ठाउँ पहिचान गर्न सक्ने गरी सुविधा उपलब्ध गराउने ढकालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्