बेलबारी ३ सेमिफाइनलमा प्रवेश : मेयरकपको ७ औँ दिनको खेलमा १२ वर्षका दीपक बने प्रमुख आकर्षक


बेलबारी । बेलबारी नगरपालिका वडा नं.४ को बेतना खेल मैदानमा जारी ५ औँ वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको ७ औँ दिन भएको खेलमा वडा नं.३ ले ५ लाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । वडा नं.३ ले ६–१ गोलको अन्तरले वडा नं.५ लाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

(सेतो भेस्टमा बेलबारी ३ र सुन्तले भेस्ट बेलबारी ५ को बल लिन प्रतिस्पर्धा गर्दै)

७ औँ दिनको खेलमा दुई टिम बिचको प्रतिस्पर्धाको मज्जा भन्दा वडा नं.३ का खेलाडी दीपक राईको खेल कौशल प्रमुख आकर्षण बनो । सानो शरीर अनि खेलाडी मध्यका सबै भन्दा होचो कदका उनी मात्र १२ वर्ष पुगेका छन् । तर उनको खेल कौशल परिपक्व उमेरका खेलाडी जस्तै थियो । ३६ वर्ष पुगेका खेलाडीसँगै एकै मैदानमा टिममा रहेर खेलिरहँदा उनी आकर्षकको केन्द्र मात्र भएनन्, उनको उत्कृष्ट एसिस्टमा एक गोल पनि भयो । करिब २० मिनेट खेलेका दीपकको खेल कौशलबाट प्रभावित भएर स्थानीय युवा दिनेश पन्तले रु.२ हजार १ सय नगद पुरस्कार प्रदान गरे ।

खेल सुरु भएको १० मिनेटमा वडा नं.५ का खेलाडी रोशन थारुले गोल गरेका थिए । केहीबेर वडा नं.३ दबाबमा रहे पनि २४ मिनेटमा किरण लिम्बुले गोल गरेर खेल बराबरीमा पुराएका थिए । लिम्बुले गरेको गोलले राहत मिलेसँगै अजित राईले ३१ मिनेटमा थप एक गोल गरेर टिमलाई अग्रता दिलाए ।
दोस्रो हाफको ५४ मिनेट ७० मिनेटमा निकेश मगरले दुई गोल गरे भने अजित राई ७१ मिनेटमा पुनः अर्को गोल गरे । ७४ मिनेटमा रबिन राईले गोल गर्दै वडा नं.३ ले जम्मा ६ गोल गरे । खेलको मेन अफ द म्याच वडा नं.३ का खेलाडी निकेश मगर घोषित भए ।

अहिले सम्मको खेलमा सबैभन्दा धेरै गोल गर्ने टिम वडा नं.३ को भएको छ । भोलि पहिलो सेमिफाइनल खेल हुने छ । आयोजकका अनुसार भोलि (बुधवार) बेलबारी वडा नं.२ र ४ बिच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्