अनेरास्ववियु पथरी बहुमुखीको सभापतिमा उज्ज्वल लकान्द्रि


पथरी । मोरङको पथरी बहुमुखी क्याम्पसमा चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियुले सभापति पदको उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । केही दिन अघि क्याम्पस कमिटीको संयुक्त बैठकले सभापतिमा उज्ज्वल लकान्द्रिलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अन्य पदका लागि उम्मेदवारहरू चाँडै टुङ्गो लगाउने अनेरास्ववियु पथरी बहुमुखी क्याम्पसका अध्यक्ष रोशन कटुवालले जानकारी दिनुभयो । जम्मा १५ सिटको प्रतिनिधि रहने पथरी क्याम्पसको स्ववियुमा उपसभापति सहसचिव पदको लागि निर्वाचनपछि नतिजाबाट आएको निर्वाचित सदस्यहरूबाट छानिने व्यवस्था रहेको छ । कोषाध्यक्ष र प्रत्यक्ष तथा समानुपातिक तर्फका सदस्यहरूको उम्मेदवारहरूको टुङ्गो लगाउन बाँकी रहेको छ ।

निर्वाचनको मिति नजिकिए सँगै जित हासिल गर्न अनेरास्ववियुले आफ्नो गतिविधिलाई तीव्र पारेको छ । योसँगै अनेरास्ववियुले जित्ने दाबी पनि गरेको छ । विद्यार्थीहरूका शैक्षिक समस्याहरूका लागि सक्रिय भूमिका,बलियो सङ्गठन निर्माण, नेता कार्यकर्ताहरूको जुझारु पन,क्षमतावान् उम्मेदवार लगायतका कारण जित्ने आधार भएको अनेरास्ववियुले जानकारी दिएको छ । सभापति पदको उम्मेदवार उज्ज्वल लकान्द्रि विद्यार्थी हक हितका निम्ति सधैँ लड्ने नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्