विश्व व्यापी फ्रेण्ड च्वाइस रियालिटी शो गायन तथा नृत्य प्रतियोगिता हुने


नेपाली भाषामा हुने कला क्षेत्रकै सर्वाधिक उच्च नगद पुरस्कार सहित विश्व व्यापी फ्रेण्ड च्वाइस रियालिटी शो गायन तथा नृत्य प्रतियोगिता हुने भएको छ । गायन र नृत्य प्रतियोगिता विजेताहरूलाई ३ करोड ४० लाख नगद राशि प्रदान गरिने भएको छ । विश्वको जुनसुकै स्थानमा रहे पनि नेपाली भाषा, कला र संस्कृति नभुलोस् भन्ने उद्देश्यले नेपाली भाषामा गायन र सोही भाषाको गीतमा नृत्य प्रतियोगिता हुन लागेको हो ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आज (फागुन १०) झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरेर विश्व व्यापी गायन तथा नृत्य प्रतियोगिता सुरु भएको जनाएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ दुवै प्रतियोगिता विश्वको विभिन्न देशमा अडिसन भइरहेको इन्ट्राले जनाएको छ । यसै क्रममा नेपालको १ नं. प्रदेशको लागि फागुन २० र २१ गते अडिसन हुने जानकारी दिइएको छ । अडिसन झापा दमक ९ स्थित सरस्वती सेकेन्डरी स्कुलमा हुने भएको हो ।

दमकसँगै नेपालको लागि नेपालगन्ज, बुटवल, काठमाडौं लगायतका स्थानमा अडिसन हुने भएको छ । फाउन्डेसन आफैले तयार गरेको ब्राण्ड ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले १ करोड, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपलाई २० लाख नगदसहित ट्रफी प्रदान गरिने छ । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यो पुरस्कार राशि नेपाली भाषाको कला क्षेत्रको हलसम्मकै उच्च हो । ‘मेरो डान्स यूनिभर्स’लाई पनि सोही बराबर पुरस्कार प्रदान गरिने बताइएको छ ।

यो सँगै नेपाली संस्कृति झल्किने ग्रुप डान्सको विजेता, दोस्रो र तेस्रो हुने टिमलाई २०, १५ र ५ लाख नगद पुरस्कार प्रदान गरिने इन्ट्रा नेपाल राम बानियाले बताए । दुवै प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरू १८ वर्ष पुगेको र ग्रुप डान्सको लागि चार जना भन्दा बढी कलाकार हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिता नेपाल बाहेक भुटान, भारतको लागि सिलिगुडी, अष्ट्रेलिया, म्यानमार, थाइल्याण्ड, क्यानडा, अमेरिका र युरोपको विभिन्न देशहरूमा अडिसन भइरहेको इन्ट्राले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरूले अनलाइन आवेदन दिन सक्ने आयोजकले जनाएको छ ।

‘मेरो भ्वाइस यूनिभर्स’ अर्थात् गायनतर्फ सुरेश अधिकारी, अन्जु पन्त, शिव परियार, पुष्पन प्रधान, सुजाता वर्मा निर्णायक रहने भएका छन् । ‘मेरो डान्स यूनिभर्स’ अर्थात् नृत्यतर्फ मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बीसी, केकी अधिकारी, प्रियंका कार्की, र नरमान राई रहने छन् ।

प्रतिक्रिया दिनुहोस्