कसेनी मा.वीको प्रमुख प्रवेशद्वार स्व.डम्बर बहादुर लिम्बुको स्मृतिमा निर्माण सम्पन्न : परिवारद्वारा चाबी हस्तान्तरण


बेलबारी । बेलबारी नगरपालिका वडा नं.४ मा रहेको कसेनी मा.वीको प्रमुख प्रवेशद्वार स्व.डम्बर बहादुर लिम्बु (सम्बाहाम्फे) को स्मृतिमा निर्माण भएको छ । आइतबार स्व. डम्बर बहादुर लिम्बुको परिवारले निर्माण सम्पन्न पश्चात् विद्यालयलाई गेटको चाबी हस्तान्तरण गरेको छ ।

गेटको उद्घाटन नगर प्रमुख दिलप्रसाद राईद्वारा भएको हो । राईले हस्तान्तरण कार्यक्रममा धन्यवाद प्रदान गर्दै स्व.डम्बर बहादुर लिम्बुको परिवारद्वारा नमुना कार्य भएको बताए । मृत्यु पश्चात् जंगलमा मृतकको स्मृतिमा कङ्क्रिटको च्यान निर्माण गर्ने संस्कारले भविष्यको पर्यावरणमा नकारात्मक असर पुग्ने हुँदा, स्व.डम्बर बहादुर लिम्बुको परिवारले शिक्षा क्षेत्रको विकासमा गरेको सहयोगले समाजलाई राम्रो सन्देश प्रदान गरेको राईले बताए । उनले भने, ‘जंगलमा च्यान बनाउँदा भोलिको पर्यावरणलाई हानि नोक्सानी पुराएको छ, आर्थिक नोक्सानी पुराएको छ । आफ्नो आर्थिक क्षमता अनुसार यस्ता स्मृतिमा गर्ने लगानी शिक्षा क्षेत्रमा गर्नु उत्कृष्ट कार्य हो । विद्यार्थीले लामो समयसम्म लाभ प्राप्त गर्ने छ ।’
प्रवेशद्वार रु.६ लाख ३८ हजार ५ सय ८२ निर्माण सम्पन्न भएको विद्यालयको शिक्षक अभय लिम्बुले जनाकारी गराएका छन् । स्व.डम्बर बहादुर लिम्बु कसेनी मा.वीको पूर्व शिक्षक हुन । हस्तान्तरण कार्यक्रममा उनका श्रीमती भिममाया यक्सो (सम्बाहाम्फे), वडा नं.४ का अध्यक्ष चन्द्र लिम्बु, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलबारीका अध्यक्ष कुमार लिम्बु, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्