विराटनगर, २७ माघ । मोरङका स्थानीय तहका प्रमुख, उपप्रमुखहरूले योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङले बेलबारीमा आज गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ वटा स्थानीय तहका प्रमुख, उपप्रमुखहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन ।
स्थानीय तहका जनप्रतिनिधिहरूले योजना तर्जुमा प्रक्रिया समावेशी बनाइने गरेता पनि सञ्चार क्षेत्रको खबरदारी आवश्यक रहेको बताएका छन् । कार्यक्रममा सहभागी बेलबारी नगरपालिकाका प्रमुख डिपी राई, रङ्गेली नगरपालिका प्रमुख दिलीप अग्रवाल, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँ, ग्रामथान गाउँपालिका उपप्रमुख गुणावतीदेवी धामी र कानेपोखरी गाउँपालिका उपप्रमुख भोला अधिकारीले आगामी आर्थिक वर्षको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउनका लागि योजनाबद्धरुपमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँहरूले आ–आफ्नो पालिकाले गरेका राम्रा कामहरूको पनि विवरणहरू प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले सञ्चार क्षेत्रले पनि योजना प्रक्रिया समावेशी बनाउनका लागि समाचार प्रकाशन तथा प्रसारणका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, मोरङ अध्यक्ष सञ्जीव खनालले स्थानीय तहको योजना निर्माण प्रक्रियालाई समावेशी बनाउनका लागि सञ्चार क्षेत्रले बहस, छलफल र समाचारहरू प्रकाशन तथा प्रसारण गरेर विषयहरू उठाउन सहयोग गर्ने बताउनुभयो । उहाँहरूले पत्रकार महासंघले गरेको छलफलले स्थानीय तहहरूको योजना निर्माणलाई सहयोग पुग्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टले प्रस्तुत गरेको ‘स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका’ विषयक कार्यपत्रमाथि छलफल गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य भक्तशेर लिम्बु, प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत, प्रेस चौतारी मोरङका उपाध्यक्ष सन्तोष राई, प्रेस मञ्च मोरङका अध्यक्ष मुकेश यादव लगायत तीन दर्जन बढी सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।