बेलबारी, २१ माघ । बेलबारी १, नक्सलमा रहेको श्री जनता माविले आफ्नो ५५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । १ नं प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारीले उद्घाटन गरेको कार्यक्रममा मोरङ क्षेत्र नं ३ ‘ख’ का सांसद ज्ञानेन्द्र सुवेदी, बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइराला, बेलबारी नगरपालिका १ नं वडाका अध्यक्ष मणि पुलामी मगरका साथै विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख अतिथि सामाजिक विकास मन्त्री राजभण्डारीले आफू सबै जातजातिको प्रतिनिधि भएको बताउँदै सबैको सबै क्षेत्रको विकासमा विभेद नगरिने, आफू समतामूलक विकासको पक्षपाती रहेको बताए । साथै उनले विद्यालयको विकासमा प्रदेश सरकारले सहयोग रहने पनि प्रतिबद्धता जायर गरे । विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद खनालले सपना देख्न छाड्नु नहुने, पुर्खाले सपना देखेकै कारण विद्यालय आजको यो अवस्थामा पुगेको बताए । प्र.अ.खनालले विद्यालयको आगामी योजनासमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुद्ध मावि केराबारी ९ का प्रधानाध्यापक छवि धमला, भगवती मावि बेलबारी ३ का शिक्षक चेतनाथ निरौला, वडा नं. १ का जनप्रतिनिधि सञ्चमाया लिम्बू लगायतको शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रममा पूर्व सांसद एवम् मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारी अध्यक्ष गुरु बराल, बेलबारी नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत तथा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाह लगायतलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा जग्गा दाता, वर्ष शिक्षक, वर्ष अभिभावक, वर्ष विद्यार्थी, दानवीर अभिभावक, साहसी निर्माण व्यवसायीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । साथै कार्यक्रममा शैक्षिक सत्र २०७८ को शैक्षिक तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ट स्थान हासिल गरेका छात्र छात्रालाई पुरस्कृत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने विद्यालयका सहायक प्रधानाध्यापक टेकराज एक्चाइ मगरको रहेको थियो ।