माघ २५ देखी सुन्दरहरैँचा १२ मा वडास्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं.१२ मा वडास्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रवार पत्रकार सम्मेलनद्वारा राष्ट्रिय युवा संघ नेपाल वडा न. १२ ले माघ २५ देखि फागुन २ गतेसम्म प्रतियोगिता हुने जनकारी दिएको हो ।

पत्रकार सम्मेलनमा नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य तथा प्रदेश नं.१ का इन्चार्ज सन्तोष बान्तवाले राष्ट्रिय पहिचान निर्माण गर्न सक्ने खेलाडीहरूको उत्पादन होस भन्ने अपेक्षा रहेको बताउँदै प्रतियोगिता सफलताको शुभकामना प्रदान गरेका छन् । प्रतियोगिता सफल बनाउन आफ्नो सक्ने सबै सहयोग रहने बान्तावाले बताएका छन् ।

सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता तथा वडा नं.१२ का अध्यक्ष रोशन ढकालले शुभकामना व्यक्त गर्दै व्यवसायीक खेल विकासको लागि नगरपालिका र वडा कार्यालयको सधैँ सहयोग रहने बताए । खेलकुदको माध्यमबाट मात्र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो ठाउँ र देशको पहिचान दिन सक्ने भएकोले खेलकुद क्षेत्र विकासमा कुनै पनि कन्जुसाई नगर्ने बताएका छन् । नगर खेलकुद विकास समिति पनि चाडै गठन गर्ने ढकालले जनाएका छन् । राजनीतिक रूप नदिईकन खेलाडीले कौशल देखाउने स्थलको रूपमा हेर्दिन र आयोजकले पनि सोही अनुसारको वातावरण निर्माण गर्न ढकालले आग्रह गरेका छन् ।

शुक्रवारे खेल मैदानमा हुन लागेको प्रतियोगितामा १२ वटा वडाको सहभागिता रहने आयोजकले जनाएका छन् । खेल संयोजक आनन्द बस्नेतका अनुसार प्रतियोगिताको लागि स्व.बुवा दुर्गाप्रसाद सुबेदीको नाममा छोरा टिकाप्रसाद सुबेदीले प्रथम पुरस्कारका लागि रु. ५१ हजार तथा स्व. कविता लिम्बुको सम्झनामा श्रीमान् गोपाल लिम्बुले दोस्रो पुरस्कार ३० हजार सहयोग गरे छन् । अनुमानित रु. ८ लाख खर्च लाग्ने प्रतियोगिताका सह–संयोजक मिलन तामाङले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्