प्रादेशिक महोत्सवमा नागरिक सचेतनाका लागि उर्लाबारी प्रहरीको स्टल रहने


उर्लाबारी । शनिवारबाट सुरु हुने उर्लाबारी महोत्सवमा नागरिक सचेतनाका लागि प्रहरीको स्टल रहने भएको छ । सबै प्रकारका हिंसा, लैङ्गिक असमानता, बालविवाह, बहुविवाह, जबरजस्ती करणीलगायत अन्य सामाजिक विकृति विसंगति नियन्त्रण तथा त्यस सम्बन्धी कानुनी व्यवस्था र नेपाल प्रहरीको भूमिकाको बारेमा जानकारी दिइने हेतुले स्टल सञ्चालनमा ल्याइने भएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक मिलनजंग थापाले अपराध पहिचान तथा रोकथामका उपायहरू र व्यक्तिगत जिम्मेवारी, आधारभूत सुरक्षा, मादक पदार्थ र लागूपदार्थ दुर्व्यसनी, प्रहरीलाई खबर गर्ने अवस्थाका विषयमा महोत्सवका आगन्तुकहरूलाई जानकारी दिइने बताउनुभयो । प्रहरीले आगन्तुकहरूलाई पर्चा, पम्पलेटका अलवा डिजिटल माध्यमबाट पनि सचेतना सन्देश प्रवाह गर्ने जनाएको छ । सडक सुशासन र ट्राफिक नियमको बारेमा जानकारी गराइनुका साथै स्टलमा सीसी टिभीको नियन्त्रण कक्षबाट सुरक्षाकर्मीले अहोरात्र निगरानी गर्ने जनाइएको छ ।

स्टलमा रहने नागरिक सहायता कक्षमा सुरक्षित सडक प्रयोग, ट्राफिक सङ्केत, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको कानुनी व्यवस्थाहरू सम्बन्धमा सैद्धान्तिक प्रशिक्षण दिइने छ । प्रहरीले आगन्तुकहरूलाई पर्चा, पम्पलेटका अलवा डिजिटल माध्यमबाट पनि सचेतना सन्देश प्रवाह गर्ने जनाएको छ । माघ २१ देखि २९ गतेसम्म सञ्चालन हुने प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव – २०७९ को तयारी तीव्र पारिएको छ । महोत्सवको दिन प्रत्येक साँझ राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ ।

महोत्सवको सुरक्षा मजबुत बनाउन कुनै कसर बाकी नराखिने इन्स्पेक्टर थापाले बताउनुभयो । महोत्सवको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत कार्कीले महोत्सवको उद्घाटन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्