‘रचना’ को बेलबारी अङ्क र ‘मोरङ जिल्ला बेलबारी नगर’ गीत सार्वजनिकीकरण


बेलबारी । साहित्यिक पत्रीका ‘रचना’ को बेलबारी अङ्क र ‘मोरङ जिल्ला बेलबारी नगर’ नामक गीत सार्वजनिकीकरण भएको छ । शुक्रवार बेलबारी नगरपालिकाको सभाहलमा बेलबारी प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा रोचक घिमिरेद्वारा सम्पादन साहित्यिक पत्रीका ‘रचना’ को बेलबारी अङ्क र बालक गुरुङको शब्द सङ्गीतमा रहेको ‘मोरङ जिल्ला बेलबारी नगर’ गीत सार्वजनिकीकरण गरिएको हो ।

रचना प्रकाशन हुन थालेको ६ दशक भन्दा लामो भइसकेको छ । विगत ६२ वर्ष देखी काठमाडौँबाट प्रकाशन हुँदै आएको रचनामा अङ्क ४ पुर्णाङक १७९ मा बेलबारीका ४० जना साहित्यकारहरूको रचना, लेख तथा अन्तर्वार्ताहरूले स्थान पाएको छ ।

२०१८ सालमा पहिलो अङ्कमा तुलसी दिवसको ‘हिृदयको पाना’ शीर्षकको पहिलो कविता र पारिजातको ‘उसले नजन्माएको छोरो’ कथा पहिलो पटक प्रकाशन गरेर पारिजातलाई कथाकारको रूपमा पनि परिचय गराउने ऐतिहासिक कार्य ‘रचना’ ले गरेको रोचक घिमिरेले बताए । ‘मोरङ जिल्ला बेलबारी नगर’ गीतका रचनाकार तथा सङ्गीतकार बालक गुरुङ बेलबारी वडा नं.११ निवासी हुन । यस गीतको सार्वजनिकसँगै थप बेलबारीलाई एक सृजना उपहार भएको छ ।

कार्यक्रमको उद्घाटन तथा ‘रचना’ को बेलबारी अङ्क र गीतको सार्वजनिकीकरण नगरप्रमुख दिल प्रसाद राईद्वारा भएको हो । राईले ‘रचना’ का सम्पादक घिमिरे र बालक गुरुङलाई धन्यवाद प्रदान गर्दै बेलबारीको साहित्य विकास क्षेत्रमा थप सहयोग पुगेको बताए । ‘रचना’ पुस्तको टिप्पणी साहित्यकार ईरान राईद्वारा भएको थियो । कार्यक्रममा पूर्व माननीय हर्कमान तामाङ, प्राज्ञ गङ्गा सुबेदी, अन्वेषक कवि अनिल पौडेल लगायतका रहेका थिए । कार्यक्रम बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुबेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्