बेलबारी। बेलबारी २, लालभित्तीमा रहेको श्री कबीर माविले एक कार्यक्रमकारबिच आफ्नो ३५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बिहीबार एक कार्यक्रमकारबिच विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवसको उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले विद्यालयले सीमित श्रोत र साधनकाबिच पनि गुणस्तरीय शिक्षा प्रदान गरेकोमा कबीर माविको सिङ्गो टिमलाई धन्यवाद दिए । प्रमुख अतिथि राईले अझ सक्रिय भएर अगाडि बढ्न पनि आग्रह गरे । साथै गुणस्तरीय शिक्षा प्रदानमा अभिभावकको चासोको पनि उत्तिकैको खाँचो रहेको पनि औँल्याए ।
उक्त कार्यक्रममा २ नं वडाका अध्यक्ष कृष्णबहादुर गुरुङ, वडा सदस्यहरू क्रमशः मञ्जु रिजाल, दीपक लिम्बू, विद्यालयका पूर्व प्रधानाध्यापक दुर्गाप्रसाद गौतम सामुदायिक विद्यालयका प्रधानाध्यापक, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य नरेन्द्र बरालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रधानाध्यापक प्रेम कार्कीबाट विद्यालय वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो । उक्त अवसरमा शैक्षिक तथा खेलकुदका विजनी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिनुका साथै विद्यार्थीहरूको तर्फबाट सांस्कृतिक प्रस्तुतिसमेत रहेको थियो ।
कार्यक्रममा दाताहरूलाई सम्मान गरिएको थियो भने कार्यक्रममा दाताहरूले राखेको अक्षयकोषबाट प्राप्त छात्रवृत्तिसमेत प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने विद्यालयका सहायक प्रधानाध्यापक ध्रुवप्रसाद नेपाल र शिक्षक सञ्जीव धिमालको रहेको थियो ।
शिक्षक बिदाइ तथा सम्मान
विद्यालयको ३५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसका दिन विद्यालयले पूर्व प्रधानाध्यापकसमेत रहेका शिक्षक दुर्गाप्रसाद गौतम, निवृत्त शिक्षकहरू गणेशप्रसाद दाहाल, हरिमाया खतिवडालाई बिदाइ तथा सम्मान गरेको छ । उनीहरूलाई प्रमुख अतिथि नगरप्रमुख राईले दोसल्ला ओढाएर सम्मान गरेका थिए । विद्यालयका शिक्षकहरूको तर्फबाट उपहारसमेत प्रदान गरिएको थियो ।