केराबारीमा मच्छिन्द्र मेला, कृषि र पर्यटन व्यापार महोत्सव २०७९ को उद्घाटन


केराबारी, १३ पौष । केराबारीमा मच्छिन्द्र मेला, कृषि र पर्यटन व्यापार महोत्सव सुरु भएको छ । आज (बुधवार) एक विशेष कार्यक्रमका बिच केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले महोत्सवको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा केराबारी गाउँपालिकाका उपाध्यक्ष मनमाया मगर, कार्यकारी अधिकृत सुदर्शन दाहाल, खदम क्याम्पसका प्रमुख टेकबहादुर थपलिया, विभिन्न वडाका अध्यक्ष तथा निर्वाचित जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रअ तथा प्रतिनिधिहरू गाउँपालिका भित्र रहेका विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

मच्छिन्द्र मेलाको इतिहासलाई बचाउँदै त्यसैका माध्यमबाट केराबारीमा कृषि तथा व्यापार –व्यवसायको प्रवर्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक संस्था केराबारी व्यापार प्रबन्ध समितिले जानकारी दिएको छ । संस्थाका अध्यक्ष किशन साहीले केराबारीमा रहेका पर्यटकीय स्थलको प्रचार प्रसार गर्दै त्यहाँ उत्पादित सामग्रीको बजार बढाउने उद्देश्य रहेको बताए ।

२४ घण्टै सुरक्षा व्यवस्थाको राम्रो प्रबन्ध गरिएकोले ढुक्क भएर सबैलाई महोत्सवमा आउन पनि अध्यक्ष शाहीको अनुरोध रहेको छ । पर्यटन तथा व्यापार महोत्सवमा कृषिजन्य, जडीबुटीजन्य, फलफूल तथा पुष्प प्रदर्शनी, साना तथा घरेलु उत्पादन र हस्तकला, अटोमोबाइल्स, गार्मेन्ट, जातीय संस्कृति झल्कने लगायतका स्टल रहने छन् ।
केराबारीमा डिजिटल प्रवेशद्वारको निर्माणका लागि सञ्चालन गरिने पर्यटन तथा व्यापार महोत्सव पौष १३ गतेदेखि १९ गतेसम्म लाग्ने केराबारी व्यापार प्रबन्ध समितिका महासचिव टेकबहादुर कार्की बताउँछन् ।

महोत्सवमा रात्रिकालीन रूपमा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने भने दिवाकालीन समयमा भने अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिताको आयोजना पनि गरिने छ । सो अवसरमा साहित्यिक कार्यक्रमको समेत आयोजना गरिएको आयोजकले जनाएको छ । दिनमा खेलकुद प्रतियोगिता र राती भने सांस्कृतिक कार्यक्रम सञ्चालन हुने छ ।

मेलालाई भव्य र सव्य रूपमा सम्पन्न गर्न आर्थिक, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक, शान्ति सुरक्षा लगायतका विभिन्न उपसमितिको गठन भएको छ । केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन साहीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी अनु निरौलाको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्