बेलबारी, ११ पौष । निजी तथा आवासीय विद्यालयको सङ्गठन प्याब्सन मोरङको ‘प्याब्सन प्रेसिडेन्ट अण्डर १५ ब्याइज फुटबल प्रतियोगिता’को उद्घाटन भएको छ । बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी खेलमैदानमा आयोजित प्रतियोगिताको बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले उद्घाटन गरेको थिए ।
पौष ११ गते उद्घाटन भएको प्रतियोगिता १३ गते सम्म चल्ने छ । प्रतियोगितामा जिल्ला भरिबाट ११ ओटा टिमको सहभागिता रहेको छ । उद्घाटन समारोहमा प्याब्सनका प्रदेश नं १ का अध्यक्ष टीकाराम ढकाल, उपाध्यक्ष अर्जुन बस्नेत, बेलबारी नगरपालिका वडा नं ११ का अध्यक्ष विक्रम वान्तवा राई, प्रदेश राष्ट्रिय परीक्षा बोर्डका प्रमुख युवराज पौडेल, प्याब्सन मोरङका अध्यक्ष शीतला लिम्बू, बेलबारी नगर प्याब्सनका अध्यक्ष भगवतीप्रसाद घिमिरे, खेलकुद महासङ्घ केन्द्रीय सदस्य सुजय गौतम लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्काउटको टिमले मार्चपासका साथै प्रमुख अतिथिलाई सलामी दिएको थियो । कार्यक्रममा माउन्ट एभरेष्टका विद्यार्थीको सांस्कृतिक प्रस्तुतिका साथै सिंहदेवी एकेडेमी बेलबारीका कराँते खेलाडीहरूको प्रस्तुति रहेको थियो ।
आज (सोमवार) दुइटा खेल सम्पन्न भएका छन् । पहिलो खेल बुढिगंगाको मोरङ पब्लिक स्कुल र रतुवामाइको अन्नपूर्ण सकेन्डरी स्कुलबिच भएको थियो भने दोस्रो खेल मिक्लाजुङको रिलाइनस स्कुल र पथरीको वाल्मीकि स्कुलबिच सम्पन्न भएकोमा क्रमशः बुढीगंगा र पथरीको टिम विजयी भएका प्याब्सन मोरङका सचिव जगत बस्नेतले जानकारी दिएका छन् ।