भारतको नयाँ राजनीतिक नक्सालाई नेपालको अस्वीकार्य


काठमाडौँ, २१ कात्तिक । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी समेटिएकोमा सरकारले गम्भीर आपत्ति जनाउँदै भारतको राजनीतिक नक्सा अस्वीकार्य गरेको छ ।

बुधवार प्रेस विज्ञप्तिमार्फत परराष्ट्र मन्त्रालयले एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने प्रस्टाउँदै भारतको राजनीतिक नक्सा अस्वीकार्य गरेको हो । सीमासम्बन्धी विषयहरू दुई देशबिच रहेको सीमा समस्याको समाधान दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनुपर्ने नेपालको जोड रहेको छ ।

नेपाल सरकार नेपालको अन्तर्रा्ष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरूबिचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवम् तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति मार्फत नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरूबाट दुई देशबिचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरूको समाधानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने जिम्मेवारी दिइएको समेत नेपालले स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्