गुणस्तरीय शिक्षा आजको आवश्यकता हो : राष्ट्रपति भण्डारी


बेलबारी, २९ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता रहेको बताएकी छिन् । बेलबारी ९ मा रहेको जनता नमुना माविमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो विचार व्यक्त गरेकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षाले असल नागरिक निर्माण गर्ने बताउँदै गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताइन् । राष्ट्रपति भण्डारीले शिक्षाको खोजीमा बिदेसिने युवालाई देशभित्र गुणस्तरीय तथा प्राविधिक शिक्षा प्रदान गरी उनीहरूलाई देश विकासमा सहभागी गराउनु पर्नेसमेत राष्ट्रपतिको सुझाव थियो ।

राष्ट्रपति भण्डारीले जनता नमुना माविको नवनिर्मित भवनको उद्घाटन गर्नुका साथै विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय दुखीलाल चौधरीको सालिकको समेत अनावरण गरिन् । उक्त अवसरमा स्काउट तथा विभिन्न जातीय संस्थाहरूले राष्ट्रपतिको सम्मानमा झाँकीहरूको प्रस्तुत गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक टेकनारायण शाहले सम्माननीय राष्ट्रपतिलाई विद्यालयमा पाउँदा खुसी व्यक्त गर्दै विद्यालयले प्राविधिक धारको पढाइलाई प्राथमिकतामा राखेको बताए । आजै राष्ट्रपतिबाट विद्यालयका सञ्चालक समितिका संस्थापक अध्यक्ष स्वर्गीय दुखीलाल चौधरीलाई मरणोप्रान्त सम्मान गरिएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रप्रसाद घिमिरे, प्रदेश सांसद अमनलाल मोदी, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नीतु थापा कोइराला, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदार गुरागाईँ, बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइराला, बेलबारी नगरपालिकाका विभिन्न वडा अध्यक्ष तथा निर्वाचित जनप्रतिनिधिहरू, राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरू, नगरभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा संघ संस्थाको प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्