रास्पाका केन्द्रीय सदस्य गणेश कार्की समानुपातिक सिट बाडफाडमा असन्तुष्ट


काठमाडौँ , मङ्सिर २४ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सामाजिक सञ्जाल मार्फत आफ्नो असन्तुष्ट पोखेका छन् । उनले समानुपातिक सिट बाड फाडमा असन्तुष्ट जनाएका हुन ।

उनले लेखेका छन् , “म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरु दक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।

किनभने, १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो । म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दीपक बोहोरा तेस्रो नम्बरमा थियौँ । समावेशी र आरक्षणको विषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्‍याउने गरी महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यही हो । विधि त्यही हो । त्यही अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो । यसैले मेरो र दीपकजीको सांसद हुने पक्कापक्की नै हो । तर आफ्नालाई काखी च्यापियो ।

जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, विधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरूले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।

अन्त्यमा, रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईँको व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो ब्रह्मले सही ठानेको निर्णय गर्नुहोला ।

पुनश्च : फोन, म्यासेज, ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असीम सम्मान छ । अलग अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ ।

पुनः पुनश्च : माथिका कुनै पनि आरोप होइनन् । खोज्नु होला । प्रमाणित हुन्छन् ।”

प्रतिक्रिया दिनुहोस्