गुरुकुल पाठशालाको विज्ञान, सामाजिक तथा सांस्कृतिक प्रदर्शनी र फुड फेस्टिभल


बेलबारी, १० मङ्सिर । बेलबारी ३ मा रहेको गुरुकुल पाठशालामा विज्ञान, सामाजिक तथा सांस्कृतिक प्रदर्शनी र फुड फेस्टिभल भइरहेको छ । आज सम्पन्न हुने प्रदर्शनी र फुड फेस्टिभल शुक्रवार बेलबारी नगरपालिकाका प्रमुख डि.पि राईद्वारा उद्घाटन गरिएको हो ।

विज्ञान, सामाजिक तथा सांस्कृतिक प्रदर्शनीमा बालबालिकाले तयार पारेका विज्ञानसँग सम्बन्धित करिब २५ वटा प्रोजेक्ट, सांस्कृतिक विविधता झल्कने खालका विभिन्न जातजातिका भेशभुषा, खानाका परिकार, माटो र कागजका आकृति प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनीको अवलोकनका लागि बेलबारी र सुन्दरहरैँचाका विद्यालयका विद्यार्थीले अवलोकन भ्रमण गरेका थिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष माधवराज थापाले विद्यार्थीलाई किताबी ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञान दिँदै आएको बताए । उनले आफूहरूले परम्परागत शिक्षामा भन्दा आधुनिक शिक्षामा जोड दिँदै आएको बताउँदै यस्ता कार्यक्रमले बालबालिकामा सामूहिक भावनाको विकास, आत्मविश्वासमा वृद्धि, सिर्जनात्मक र अनुसन्धानात्मक सीपको विकासमा सहयोग पुग्ने थापाको विश्वास रहेको छ । विद्यालयले आफ्नो सामाजिक दायित्व वहन गर्ने क्रममा धेरै जना गरिब तथा विपन्न बालबालिकालाई निःशुल्क रूपमा शिक्षासमेत दिँदै आइरहेको बताए ।

विद्यालयका प्रिन्सिपल कुमार खुलालले आफूहरूले गुणस्तरीय शिक्षाका माध्यमबाट बेलबारीलाई एउटा शैक्षिक हबको रूपमा विकास गर्ने काम गरिरहेको बताएका छन् । किताबी ज्ञानले मात्र सिकाइ पूर्ण हुन नसक्ने हुँदा पढाइसँगै व्यवहारिक शिक्षामा जोड दिइएको पनि बताए । प्रदर्शनीमा आउने पहिलो पटक यति भव्य र व्यवस्थित प्रदर्शनी भएको प्रतिक्रिया दिएका थिए ।

उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नीतु थापा कोइराला, शिक्षा शाखा प्रमुख भूपेन्द्र प्रसाद कोइराला, वडा नं १ र ३ का अध्यक्ष क्रमशः स् मणि पुलामी मगर र योगेन्द्र सुवेदी, बेलबारी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश जङ्ग कार्की, प्याब्सन मोरङका अध्यक्ष भगवतीप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो । प्रदर्शनी शनिवारसम्म चल्ने सुरुमा प्रदर्शनी एक दिवसीय भनिए पनि पुनः एक दिनलाई थपिएको छ ।

शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइरालाले कार्यक्रमको महत्त्वलाई हेरेर अरू एक दिन थप्नु उचित हुने सल्लाह दिएपछि प्रदर्शनीलाई शनिवार एक दिन थप गरिएको विद्यालय प्रिन्सिपल कुमार खुलालले बताए ।

प्रतिक्रिया दिनुहोस्