आफ्नो दाबी भन्दा बढी मतान्तरमा उक्लिँदै शर्मा : मोरङ क्षेत्र नं. ३


बेलबारी, ९ मंसिर । मोरङको क्षेत्र नं.३ मा प्रतिनिधि सभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार सुनिल शर्मा २० हजार भन्दा बढी मतान्तरले अगाडी बढेका छन् । प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकाललाई शर्माले २० हजार ५ सय ७२ मत अन्तरले पछाडि पारेका हुन ।

यो मतान्तर शर्मा आफैले गरेको भन्दा बढी हो । शर्माले १५ हजार मत अन्तरले विजयी हुने दाबी गर्दै आएका थिए । प्रतिनिधिसभा सदस्यको लागि जम्मा ८६ हजार १९३ खसेको मतमा गणना क्रममा ४३ हजार १ सय ६५ शर्मालाई मत खस्दा ढकालले भने २२ हजार ५ सय ९३ मत प्राप्त गरेका छन् ।

राप्रपाका रेखा थापाको सामाजिक सञ्जालमा देखिएको चर्चा साथै क्षेत्र नं.३ को प्रतिनिधिसभा सदस्यको एक मात्र महिला भएको कारण दुवै पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा निकट हुने सक्ने आकलन गरिएको थियो । र थापाको दाबी पनि थियो । तर हालसम्म खसेको मत परिणाम भने निकै फरक रहेको छ ।

शर्माले थापालाई भोट काट्न आएको आरोप समेत लगाएका थिए । तर हालसम्मको परिणाम भने उल्टो देखिएको छ । शर्माले दुवै प्रतिस्पर्धीलाई भारी मत अन्तरले पछि पारेका छन् । रेखालाई अहिले सम्म ९ हजार ९ सय ३९ मत खसेको छ ।

निर्वाचन कार्यालयका अधिकृत रामहरी काफ्लेका अनुसार करिब १० हजार मत गणना गर्न बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्