धीरनाथ सफुल विश्वास मा.विमा रघुद्वारा ३५ लाखको भवन निर्माण हुँदै : शिलान्यास सम्पन्न


बेलबारी, २ मंसिर । बेलबारी नगरपालिका वडा नं.१० मा अवस्थित श्री धीरनाथ सफुल विश्वास मा.विमा स्थानीय रघु पुरीले २ कोठे भवन निर्माण गर्दिने भएको छन् । पुरीले बिहीबार भवनको शिलान्यास गरेका छन् ।

पुरीका अनुसार भवन निर्माणमा ३५ लाख लागत लाग्ने छ । पुरी उक्त विद्यालयको पूर्वविद्यार्थी हुन । विद्यालयबाट आग्रह भएसँगै शिक्षा क्षेत्रको विकास तथा बाल्यकालमा अध्ययन गरेको विद्यालयको मायाले उक्त भवन निर्माण गर्दिन लागेको उनी बताउँछन् । उनी भन्छन्, ‘विगतमा दुखले पढ्यौँ अभाव हिजो थियो तर आज गुणस्तर शिक्षाको लागि कुनै कन्जुसाई गर्न हुँदैन । पूर्वविद्यार्थी तथा स्थानीय भएकोले आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गरेको हो । शिक्षाको विकासले मात्र समृद्धि आउने हो । त्यसैले शिक्षा क्षेत्रको विकासको लागि सबैले सक्ने सहयोग गर्नु पर्छ ।’

विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद कोइरालाले धन्यवाद दिँदै पुरी जस्तो काम गर्ने साहसी व्यक्तिको खोजीमा रहेको बताए । कोइराला भन्छन्, ‘विद्यालयको विकास अभियानमा पूर्वविद्यार्थीहरूलाई आग्रह गर्ने क्रममा वहाँलाई पनि प्रस्ताव राखेको थियौँ । वहाँ जस्तै साहसी व्यक्तिको खोजीमा छौँ । भवन निर्माण गर्न सरकारी बजेट ३५ लाख ल्याउनु परेको भए प्रक्रिया बढाउँदा बढाउँदै समय जान्थ्यो तर रघु सरको सहयोगले धेरै सहज भयो ।’

प्रतिक्रिया दिनुहोस्