अमनलाल मोदीलाई प्रश्न सोध्दा एक युवक पिटिए


मोरङ, १ मंसिर । सार्वजनिक कार्यक्रममा नेतालाई प्रश्न गर्ने एक युवक दलका कार्यकर्ताबाट पिटिएका छन् । घटनाले चुनावी सभालाई नै असर गरेको छ ।

मोरङ कटहरी ३ चम्राहीस्थित मदरसामा बुधवार आयोजित चुनावी सभामा उम्मेदवारलाई प्रश्न गर्ने २१ वर्षीय शंकरकुमार साफीलाई नेताहरूले नै पिटेका हुन् । सत्ता पक्षीय गठबन्धनको सभामा उम्मेदवार अमनलाल मोदीले मन्तव्य राखेपछि साफीले ‘१० वर्ष सांसद भएर के के विकास गर्नु भयो ?’ प्रश्न गरेका थिए । मोदीले पनि सडक, विद्यालय बनाएको जवाफ दिए ।

तर, नचिनेको युवकले प्रश्न गरेको भन्दै स्थानीयले उनका बारे खोजबिन गर्दा साफी सुनसरी कोशी गाउँपालिका ७ हरिपुर घर भई कटहरीमा डेरामा बसेको जानकारी पाएका थिए । ‘वडा अध्यक्ष जदुलाल कामत सहितका ४, ५ जनाले कुटपिट गर्दै कार्यक्रमबाट बाहिर निकाले’ साफीले भने–‘पिट्दा पिट्दै उनीहरूले सोधे फेरी प्रश्न गर्छस् ? मैले पनि गर्छु भनेँ’ उनले बताए । कुटपिट सुरु भएपछि कार्यक्रम नियमित हुन नसकेको बताइएको छ ।

साफीलाई लछारपछार पार्दै पुनः कार्यक्रम स्थलमा लगियो । । माओवादीका केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार मोदीले चिया खान र गफ गर्न आग्रह गर्दा साफीले अस्वीकार गरेका थिए । आजसम्म चुनावमा भोट नै नहालेको मानिस भएकाले विभिन्न जिज्ञासा लिएर नेता समक्ष पुग्दा कुटाइको जवाफ पाएकाले मोदीले चिया खान भन्दा पनि आफूले नमानेको उनको भनाई छ ।

प्रदेशसभाका उम्मेदवार भिम पराजुलीलाई ५ वर्षमा विराटनगरको मेयर भएर के के काम गर्नु भयो भन्ने उनले प्रश्न गरेका थिए । ‘नेता आए भनेर जिज्ञासा लिएर गएको थिएँ, प्रश्न सोध्दा कुटाई खाइने रहेछ, राजनीति बुझ्ने मेरो चाहना थियो’ साफीले भने । पटनापछि गठबन्धनका कार्यकर्ताले साफीलाई प्रहरीमा बुझाएका थिए । उनलाई नियन्त्रणमै नराखी छाडिएको मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।

उनी विज्ञान सङ्कायमा भर्खरै दस जोड २ सकेर स्नातकको तयारी गर्दै गरेका युवा हुन् । दैनिक ६० जना विद्यार्थीलाई उनी ट्युसन पढाउँदै आएका छन् । नेतालाई नौलो मानिसले प्रश्न गरेको र पुराना कार्यकर्ता भएकैले कुटपिट गर्नु दुःखदायी भएको नेकपा एमाले कटहरीका अध्यक्ष राम राजवंशीले बताए । नेता मोदीका स्वकीय सचिव उमेश ढुङ्गानाले बताए ।

अपरिचित युवकले हातमै प्रश्न लेखेर ल्याएको र मोबाइलले रेकर्ड गरेकाले स्थानीयले अवरोध गरेको उनको भनाई छ । नेता मोदीको मोबाइल फोनमा सम्पर्कमा आएका उनले ति युवक कोहीबाट परिचालित भएको हुन सक्ने बताउँदै कुटपिट नभई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए । स्थानीयले भनेँ संविधानसभा हलमै कुर्सी उठाएर भाँच्ने मोदीलाई सर्वसाधारणको प्रश्न भारी भएको उनको कमजोरी बताए ।

प्रश्न गर्दा कुटाई खाएका साफी ।

प्रतिक्रिया दिनुहोस्