मणिराम दाहाल – सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा ९ स्थित प्रकृति टोलका कृषक एन कुमार गिरीले विगत १० वर्ष देखि निरन्तर रूपमा गरेको व्यावसायिक कुखुरा पालनबाट स्वदेशमै मनग्य आम्दानी हुने गरेको छ । एनी एन्जल कृषि फार्म प्रालि दर्ता गरेर १५ कट्ठा जग्गामा व्यावसायिक रूपमा गरेको लेयर्स जातकाे कुखुरा पालनबाट वार्षिक रूपमा रु.२५ लाख जति आम्दानी गर्न सफल भएको कृषक गिरीले बताए।
२ करोडको लगानीमा फर्म सञ्चालन गरेका गिरीले अहिले ७ हजार अन्डा पर्ने जातका लेयर्स कुखुरा पाल्दै आएका छन् । स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकोले `सुरुमा ऋण लिएर कुखुरा फर्मका लागि जग्गा जोडेको थिए, अहिले यही पेसाबाट बैकको ऋण समेत तिर्न सफल भएको ´कृषक गिरीले सुनाए। साेलुखुम्बुबाट एसएलसी उत्तीर्ण गरेर महेन्द्र क्याम्पस धरानबाट बिबिएस पास गरेका छन् गिरीले। उनी आयुर्वेद सम्बन्धी ज्ञान भएको वैध पनि हुन । `कृषिमा ठुलो सम्भावना देखेर रहरका साथमा सुनसरीकाे तरहराबाट सुन्दरहरैँचा आएर व्यावसायिक रूपमा कुखुरा पालनलाई अगालेकाेले यसबाट आफू अहिले सन्तुष्ट भएको ´गिरीले उल्लेख गरे ।
एनी एन्जल कृषि फर्ममा अहिले केही जनशक्तिले रोजगारी समेत पाएका छन्। यस कुखुरा फर्ममा दैनिक ५ हजार अन्डा उत्पादन हुने गरेको छ । अन्डा प्रतिगाेटा रु ११ रुपैयाँमा फार्ममै बिक्री हुने गरेको गिरी बताए । आफ्नो कुखुरा फर्मबाट उत्पादन भएको अन्डा पूर्वी नेपाल लगायत विभिन्न स्थानमा होलसेल तथा खुद्रा मूल्यमा खपतका लागि पुग्ने गरेको कृषक गिरिले उल्लेख गरे ।
उनले कुखुराको अन्डामा मान्छेको क्षमता बढाउने शरीरका लागि आवश्यक पौष्टिक तत्त्व हुने भएकोले यसको सेवन गर्नु लाभदायक समेत भएको बताए। लेयर्स जातकाे कुखुराले बाहै् मास अन्डा उत्पादन गर्ने गर्दछ भने अन्डा पार्न छाडे पछि मासुको दाममा बिक्री हुने गरेका कारण यस व्यवसाय तर्फ अहिले बढी आकर्षित समेत हुने गरेको कुखुरा पालन गर्दै आएका कृषकहरू बताउँछन्।
गर्मी मौसममा भन्दा जाडो सिजनमा कुखुराको अन्डा तथा मासु बढी खपत हुने गर्दछ । कुखुराको अन्डा उत्पादन भएको करिब एक महिना भित्रमा खपत भै सक्नु पर्छ । कुखुरा पालन व्यवसायबाट अन्डा र मासु उत्पादन हुनुका साथै सुलीको मलबाट समेत राम्रो आम्दानी हुने गरेको कृषकहरू बताउँछन् । प्रतिबोरा रु ३ सयमा फर्मबाट सुली बिक्ने गरेको तथा रासायनिक मल इउरिया , डिएपी बजारमा पाउन मुस्किल हुने गरेकोले सुली मलकाे खपत बढेको कृषक गिरीले सुनाए ।
२ वटा ठुला ठुला कटेराेमा कुखुरा फर्म सञ्चालन गरेका गिरीले कुखुरा पालनसँगै खसिबाख्रा समेत पालेर आफ्नो कृषि पेसालाई थप मजबुत बनाएका छन् । उनले उन्नत बयर जातका ५० वटा भन्दा बढी खसिबाख्रा पालन गरेर मनग्य आम्दानी गर्दै बाख्राको बडकुडाबाट मल उत्पादन गरी बिक्री वितरण समेत गर्दै आएका छन् । कृषिमा सम्भावना धेरै भएकोले मेहेनतका साथमा जाँगर चलाउँदै तरिका पुराएर काम गर्दा नाफा हुने अनुभव आफूले बटुलेको कृषक गिरीको भनाइ रहेको छ ।
कुखुरा पालनको बारेमा समस्या के छ ? भनेर साेध्दा कृषक गिरीले कुखुरालाई रानीखेत , पानी कम भएर लाग्ने रोग (इकाेला) फोक्सो , घाँटी सम्बन्धी रोग भएकोले औषधि उपचारमा समस्या हुने हुँदा आफू जस्तो स्वदेशमै आत्मा निर्भर भएर बाँच्न चाहने कृषकको लागि सरकारले सहयोग गर्नु पर्ने उल्लेख गरे। खुल्ला बजार प्रतिस्पर्धा तथा बिचौलिया (दलाली) का कारण कुखुरा पालनमा समस्या भएको तथा सरकारले उचित मूल्य निर्धारण गर्न नसक्दा लागत भन्दा कम दाममा उत्पादित समान बिक्री गर्नु पर्दा मार्कामा परेको कृषक गिरीले बताए ।
उनले किसानको नाममा नक्कली किसानले राहत अनुदान पाउने तथा वास्तविक किसान पीडित हुने गरेको उल्लेख गर्दै कृषिमा पनि नराम्रो राजनीतिले छुने गरेकोले यसको अन्त्य हुनु पर्ने सुझाव समेत दिए। सुन्दरहरैँचा नगरपालिका वडा न ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले यस नगर क्षेत्रमा कृषिलागि धेरै सम्भावना र अवसर भएकोले एन कुमार गिरीले गरेको कृषि कर्म उदाहरणीय तथा महत्त्वपूर्ण भएको हुँदा मेहेनति तथा उद्यमशील कृषकको लागि सरकारले समेत आवश्यक सहयोग गर्न जरुरी रहेको बताए।