बेलबारीमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने : विजेता टिमलाई ८ लाख प्रदान गरिने


मणिराम दाहाल – सुन्दरहरैँचा । मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ । डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्ग स्थित लक्ष्मी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने भएको हो ।

आयोजक समितिले बेलबारीमा बुधवार पत्रकार सम्मेलन गरी कार्तिक १५ देखि २३ गतेसम्म प्रतियोगिता हुने जानकारी गराएको छ । प्रतियोगितामा विजेता हुने टिमले नगद रु.८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ पाउने आयोजक क्लबका अध्यक्ष विक्रम राईले पत्रकार सम्मेलनमा जानकारी दिए। यस अघिको चौथो संस्करणमा विजेताको नगद राशि रु ५ लाख रुपैयाँ रहेको राईले बताए ।

गोल्डकपमा तीन वटा विदेशी टिम सहित १० टिमको सहभागिता रहेको पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ ।प्रतियोगितामा गत वर्षको विजेता टिम सशस्त्र प्रहरी बल सहित रोलिङ एफ सी झापा, पेम्बा यूथ क्लब विराटनगर, डाँगी हाट यूथ क्लब आयोजक, सहारा क्लब पोखरा, भारतको वेस्ट बङ्गाल आमुक्त परिवार, सिराहाको सहलेस यूथ क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, युनाईटेड ब्रदर्श कालिम्पोङ भारत र धनकुटाको राजारानी फुटबल क्लबको सहभागिता रहने छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५२ लाख ६१ हजार रुपैयाँ खर्च हुने तथा ६१ लाख ९० हजार रुपैयाँ आम्दानी हुने आयोजकको अपेक्षा रहेको डाँगीहाट यूथ क्लबका प्रेस संयोजक तथा सञ्चारकर्मी नगेन्द्र बस्नेतले बताए । प्राप्त भएको आम्दानीबाट एकेडेमी सञ्चालन गरी खेलाडीहरू उत्पादन तथा खेलकुद क्षेत्रमा लगानी गरिने उल्लेख गरिएको छ । उद्घाटनको खेल झापाको रोलिङ एफ सी र पेम्बा यूथ क्लब विराटनगर बिच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्