उमेद्वारमाथि प्रश्नै प्रश्न : मोरङ ३ को प्रतिनिधि सभा सदस्यमा कसले मार्ला बाजी ? 


निर्वाचनको मिति नजिकिँदै गर्दा देशैभर चुनावी सरगर्मी बढिरहेको छ । पार्टी लगायत स्वतन्त्र उमेद्वारले निर्वाचन चिह्नसमेत पाएर यतिखेर गाउँ गाउँमा मतदाताको घरघरमा पुगिसकेको अवस्था छ । राम्रो विकल्प दिने स्वतन्त्र व्यक्तिको उमेद्वारी आउन नसक्नाले पनि यसपालिको निर्वाचनमा पनि मोरङ क्षेत्र नं ३ मा मुख्य दलबिचकै प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ ।

यसपालिको प्रतिनिधि सभाको निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका तर्फबाट पूर्व मन्त्रीसमेत रहेका निवर्तमान सांसद भानुभक्त ढकालको उमेद्वारी रहेको छ भने गठबन्धनको तर्फबाट गत निर्वाचनमा झिनो मतान्तरले पराजय व्यहोरेका काँग्रेसका डा. सुनिल शर्माले उमेद्वारी रहेको छ । यस पटकको निर्वाचनमा पनि ढकाल र शर्मा पुनः आमनेसामने भएका छन् ।

त्यस्तै मोरङ क्षेत्र नं ३ मा यस पटकको सिने जगतमा नाम कमाएकी सफल अभिनेत्री रेखा थापाको राप्रपाको तर्फबाट उमेद्वारी रहेको छ ।
मङ्सिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि यस क्षेत्रबाट स्वतन्त्र उमेद्वारी दिने सङ्ख्या २० रहेको छ । यति धेरै स्वतन्त्र उमेद्वारी आएकाले जनताले अपेक्षा गरेअनुसार यस पालिकाको निर्वाचनमा स्वतन्त्रले मत ल्याउने सम्भावना निकै कम रहेको छ । स्वतन्त्रहरूबिच सहमति गरेर एउटालाई अगाडि बढाउन सकेको खण्डमा मात्र मुख्य राजनीतिक पार्टीका उमेद्वारसँग प्रतिस्पर्धा गर्न सक्ने नत्र मत विभाजन हुँदा मत परिणामलाई प्रभाव पार्ने काम मात्र हुने सम्भावना प्रस्ट देखिन्छ । कतिपय स्वतन्त्र उमेद्वारलाई त राजनीतिक पार्टीले नै डमी उमेद्वार उठाएका हुन् भन्ने आरोप पनि लाग्ने गरेको छ ।

कहाँ चुके त भानुभक्त ?

नेकपा एमालेको पोलिटब्युरो सदस्यसमेत रहेका भानुभक्त ढकाल पार्टीका शक्तिशाली नेता मानिन्छन् । पार्टी अध्यक्ष ओलीका निकट मानिने नेता ढकाललाई निर्वाचन जितेर गए पछि राजनीतिक पार्टीका काममा आउने र आफ्ना सीमित व्यक्तिलाई भेट्नेबाहेक स्थानीय जनतालाई समय नै नदिएको आरोप लाग्ने गरेको छ । यतिसम्म कि उनको यो बानीलाई लिएर एमालेभित्रै पनि आलोचना हुने गरेको छ । कतिपय नेता तथा कार्यकर्ताले त उनलाई सोझै ‘तपाई हामीलाई समय नै दिनुहुन्न, हाम्रा फोन उठाउनुहुन्न तपाईँलाई यहाँका जनताले किन मत दिने’ भनेर प्रश्न उठाउने गरेका छन् ।

उनले अघिल्लो पाँच वर्षको अवधिमा आफ्ना निर्वाचन क्षेत्रमा रहेका मिडियाकर्मी, प्रभुत्व वर्ग, उद्योगी–व्यवसायी तथा सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थासँग भेट घाट गर्न सक्थे, यस क्षेत्रका समस्याका बारेमा छलफल गर्न सक्थे तर उने त्यस्तो कहिल्यै गरेनन् । उनी मिडियाप्रति निकै अनुदार बने । मिडियाप्रति अनुदार बनेकै कारण पनि उनले गरेका राम्रा कामको पनि प्रचार प्रसार हुन सकेन । आफ्ना क्षेत्रका नेता तथा कार्यकर्तालाई समय दिन नसक्नु, ओम्नी प्रकरणबारे समयमै प्रस्ट पार्न नसक्नु, मिडियाप्रति अनुदार हुनु आदि कारणले गर्दा ढकाल आलोचित मात्र भएका छैनन्, यही विषय नै प्रतिपक्षीका लागि चुनावी एजेन्डा बन्ने सम्भावना रहेको छ ।

सुरुमा निर्वाचन क्षेत्रभन्दा बाहिरका मानिस हुन्, एमालेले बाहिरका मानिसलाई टिकट दियो भनेर भानुभक्तको निकै आलोचना भयो । विपक्षी दलले त उनलाई ट्रुरिष्ट उमेद्वार भन्नसमेत पछि परेनन् । विपक्षीले लगाएको यो आरोपलाई झुटो साबित गर्न ढकालले सुन्दरहरैँचामै बसाई सराइ ल्याउनुपर्‍यो । सुन्दरहरैँचामा घरसमेत बनाएर बाहिरका हुन् भन्ने आरोपको खण्डन गर्न सफल त भएका छन् तर उनीप्रति लागेका कतिपय आरोपलाई बेलैमा खण्डन गर्न नसक्दा पनि उनले यतिखेर प्रश्नै प्रश्नको सामना गर्नु परेको छ । उनीसँग सोझिने गरेको महत्त्वपूर्ण प्रश्न हो ‘ओम्नी प्रकरण’ ।

ओम्नी प्रकरण सार्वजनिक भयो । स्वास्थ्य सामग्री खरिदमा व्यापक भ्रष्ट्राचार भएको खबर सार्वजनिक भए । महालेखा परीक्षकको कार्यालयले समेत स्वास्थ्य सामग्री खरिदमा भ्रष्ट्राचार भएको प्रतिवेदन सार्वजनिक ग¥यो । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका कारणले पनि उनले त्यस घटनाका बारेमा सत्य तथ्य बाहिर ल्याउनु पर्थ्यो । ओम्नी प्रकरणमा आफू दोषी नभएको भनेर स्पष्टीकरण दिइरहेका छन् । यति उनी दोषी थिएनन् भने त्यतिखेरै यसमा के भएको थियो, सत्य तथ्य बाहिर ल्याउनु उनले कर्तव्य थिएन र ? उक्त विषयलाई वास्ता नै नगरी चुनावी मैदानमा होमिदा यतिखेर उनलाई सफाइ दिन भ्याइन भ्याइ छ । मतदातालाई मात्र होइन उनले यतिखेर आफ्नै नेता तथा कार्यकर्ता पनि सफाइ दिँदै हिँड्नु परेको छ ।

यद्यपि उनले उमेद्वारी दर्ता गरेपश्चात् सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रियामा अघिल्लो निर्वाचनको भन्दा आफूले तीन गुणा बढी मत ल्याएर जित्ने दाबी गरेका छन् तर यसपालिको निर्वाचनमा ढकाललाई त्यति सजिलो भने छैन । उनलाई शुभचिन्तकबाट खतरा त छँदै छ त्यसमा पनि बढी खतरा भनेको उनलाई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताबाट छ ।

डा. शर्माप्रति प्रश्नै प्रश्न ?

मोरङ क्षेत्र नं ३ मा गठबन्धनका तर्फबाट उमेद्वारी दिएका डा. सुनिल शर्माप्रति पनि निकै प्रश्न सोझिने गरेका छन् । अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजयको सामना गरेका शर्मा मेडिकल सञ्चालक हुन् । नोबेल मेडिकल हुँदै काठमाडौँ मेडिकल कलेजको नेतृत्वसमेत सम्हाल्दै आएका शर्माप्रति मेडिकलकै विषयलाई लिएर निकै प्रश्न तेर्सिने गरेका छन् । शर्मा आफै निजी मेडिकल सञ्चालक भएकाले उनले जिते भने यस क्षेत्रका सरकारी अस्पताल धरापमा पार्नेछन भन्ने आरोप लाग्ने गरेको छ ।

एकथरि मानिस चाहिँ लामो समयदेखि मोरङ क्षेत्र नं ३ का जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिँदै आएकाले उनको जितले यस क्षेत्रको अवस्थामा आमूल परिवर्तन हुनेछ भन्ने विचार राख्छन् तर उनका विपक्षीले भने मेडिकल दर्ता गर्दै वार्षिक रूपमा यति पटक स्वास्थ्य शिविर गर्छु भनेर सम्झौता गरिएको हुन्छ, त्यही प्रावधानलाई आफूअनुकुल प्रयोग गरेर शर्माले प्रचार प्रसार गरेको आरोप लाउने गरेका छन् । चुनाव पछि पनि नियमित रूपमा आफ्ना निर्वाचन क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेकाले ‘यो खेल चुनावभरि मात्र हो, चुनाव हारेपछि शर्माले केही पनि गर्दैनन् भन्ने आरोपलाई शर्माले झुटो साबित गरिदिएको उनको समर्थकको बुझाइ रहेको छ ।

त्यसो त शर्माप्रति मेडिकल कलेजमा विद्यार्थीबाट चर्को शुल्क उठाएको, विद्यार्थीले पाउनुपर्ने सेवा सुविधा नदिएको, उनको डाक्टरी सर्टिफिकेट नै नक्कली भएको, निर्वाचन क्षेत्रका जनतालाई मात्र स्वास्थ्य सेवा प्रदान गरेर निर्वाचनलाई आफू केन्द्रित गर्न खोजेको जस्ता प्रश्नहरू बारम्बार उब्जिँदै आएका छन् । डा. शर्माले जे गर्छन् आफ्ना फाइदाका लागि मात्र गर्छन् । शर्माले काङ्ग्रेसलाई कमजोर बनाएर आफूलाई मात्र शक्तिशाली बनाएको जस्ता आरोप खेप्दै आएका छन् ।

बेलबारीका पुराना काँग्रेसका नेता राजकुमार लिम्बूले पार्टी परित्याग गर्दै शर्माकै कारण आफू पार्टी छाड्नु परेको आरोप लगाएका छन् । सुन्दरहरैँचा नगरपालिकाका निवर्तमान प्रमुखसमेत रहेका काङ्ग्रेस नेता शिवप्रसाद ढकालले नामै नतोके पनि खरो रूपमा शर्माको विरोध गरिरहेको देखिन्छ । जसले गर्दा पनि शर्मालाई यस पटकको निर्वाचनमा सफलता हासिल गर्न त्यति सजिलो भने छैन । उनीसँग रुष्ट भएका नेता तथा कार्यकर्ता रेखा थापालाई मत हाल्ने सम्भावना त छदैँछ गठबन्धनका दलबाट घात हुने त्यतिकै सम्भावना देखिन्छ । त्यसो त गठबन्धनमा रहेका दलबाट हुने घातभन्दा पनि आफ्नै पार्टीभित्रबाट हुने घात यिनका लागि यस पटक महँगो हुने देखिन्छ ।

होला त सफल रेखाको राजनीतिमा डेभ्यू ?

सिने क्षेत्रमा नाम कमाएकी अभिनेत्री रेखा थापा राजनीतिमा डेभ्यू गर्दै छिन् । उनको यो डेभ्यूले यस क्षेत्रको राजनीतिमा तरङ्ग पैदा गरिदिएको छ । सुरुमा ‘जनताको मत जित्न अभिनयको जस्तो सजिलो छैन’ भन्ने मुख्य राजनीतिक दलका उमेद्वारहरू पनि गाउँ गाउँबाट स्वतःस्फूर्त रूपमा मतदाता उनका कार्यक्रममा सहभागी हुन थालेपछि सशङ्कित भएका छन् ।

राप्रपाबाट उमेद्वार बनेकी थापाप्रति मतदाताले देखाएको आत्मीयताले मुख्य राजनीतिक पार्टीका उमेद्वारहरू अत्तालिनु स्वाभाविकै हो । पार्टीगत रूपमा कमजोर रहे पनि उनको लोकप्रिय व्यक्तित्वका कारण पनि उनी कडा प्रतिस्पर्धी बन्ने आँकलन गरिएको छ ।

थापा कलाकारितामा सफल भए पनि राजनीतिका लागि उपयुक्त पात्र नभएको टीका टिप्पणी पनि हुने गरेका छन् । राजधानी केन्द्रित कलाकारिता रमाइरहेकी थापाले कहिल्यै पनि आफूलाई मोरङको मतदाताको रूपमा स्वीकार गरिनन्, उनको आफ्नै मतदाता नामावली नभएको ठाउँबाट अरूको मत प्राप्त गरेर चुनाव जित्ने मजाक सिवाय केही होइन भन्ने पनि भेटिन्छन् । तर यस्ता टिप्पणी स्वतन्त्र ढङ्गले भन्दा पनि राजनीतिक वृत्तबाट आउने गरेका छन् ।

देशकै मुटु काठमाडौँ राजनीतिक पार्टीको कब्जाबाट फुत्किए पछि राजनीतिक पार्टीले सोचेजस्तो अवस्था नभएको त सङ्केत दिइसकेको छ । त्यस्तै प्रदेश नं १ को मुटु मानिने धरान उपमहानगरपालिका पनि स्वतन्त्र व्यक्तिले जिते पछि त राजनीतिक पार्टीहरू झनै अत्तालिएका छन् ।
त्यसैले पनि थापालाई कमजोर प्रतिस्पर्धी मान्न नहुने विश्लेषकहरूको बुझाइ रहेको छ । काँग्रेस र एमालेका असन्तुष्ट मतदातालाई थापाले आफूतिर तान्न सकिन् भने उनको जीत सुनिश्चित हुने सम्भावना रहेको बताउने पनि प्रसस्त भेटिन्छन् ।

यी सवै आँकलन मात्र हुन् । जनता जनार्दन छन् । यसको निर्क्योल भने मङ्सिर ४ गतेको निर्वाचन पछि नै हुने छ ।

प्रतिक्रिया दिनुहोस्