एमालेले मोरङको क्षेत्र ३ मा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको टुङ्गो लगायो


मोरङ, २२ विराटनगर । नेकपा एमालेले मोरङको क्षेत्र नं.३ मा प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभामा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकालले टिकट पाएका हुन भने प्रदेशसभा ‘क’ मा किशोर राई र ‘ख’ मा ज्ञानेन्द्र सुवेदी सुनिश्चित भएका छन् ।

प्रतिनिधिसभामा एक जनाको नाम ढकालको सर्वसम्मत सिफारिस भएसँगै सुनिश्चित भएको थियो भने प्रदेशसभाको भने टुङ्गो लाग्न सकेको थिएन । ‘क’ बाट ११ जना इच्छुक भएका थिए भने ‘ख’ मा १३ जान इच्छुक भएका थिए । सोही सिफारिस मध्य ‘क’ मा राई र ‘ख’ मा सुवेदी सुनिश्चित भएका हुन । राई पथरी शनिश्चरे नगरपालिकाका निवर्तमान प्रमुख हुन भने सुवेदी बेलबारी नगरपालिकाका निवर्तमान प्रमुख हुन ।

त्यसै गरी क्षेत्र नं. १ को प्रतिनिधिसभामा घनश्याम खतिवडा, प्रदेश ‘क’ मा उमाकान्त गौतम र ‘ख’ मा खड्ग बस्नेत, क्षेत्र नं. २ को प्रतिनिधिसभामा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, प्रदेश ‘क’ मा डिबी कार्की र ‘ख’ मा लिलाबल्लभ अधिकारीको टुङ्गो भएको छ । क्षेत्र नं.४ को प्रतिनिधिसभामा एमालेले केन्द्रीय सदस्य विनोद ढकाल, प्रदेश ‘क’ मा जयप्रकाश चौधरीको उम्मेदवार रहने छ भने ‘ख’ मा तालमेलका लागि खाली छाडिएको छ । खाली छाडिएको ‘ख’ मा अब्बास अन्सारी उम्मेदवार बन्न सक्ने देखिन्छ ।

क्षेत्र नं. ५ मा प्रतिनिधिसभा र प्रदेशसभाको ‘ख’ मा भने जसपाले पाएका छन् । प्रतिनिधिसभामा राजकुमार यादवले टिकट पाएका हुन भने प्रदेश ‘क’ मा एमालेका सन्तोष शाह र ‘ख’ मा जसपाका जयराम यादवले टिकट पाएका छन् । मोरङ ६ बाट लालबाबु पण्डितले टिकट पाएका छन् । प्रदेश ‘क’ मा रिता न्यौपाने सुनिश्चित भएका छन् भने ‘ख’ मा तालमेलमा जसपाका राजेन्द्र गुप्ताले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्