बेलबारी, १४ असोज । बेलबारी नगरपालिकामा गठन भएको प्रज्ञा प्रतिष्ठानको गठन विधि गलत भएकोले उक्त निर्णय सच्याउनु पर्ने भन्दै विरोध हुन थालेको छ । प्राज्ञिक संस्थामा योग्य, सक्षम तथा योगदानभन्दा पनि दलीय भागबन्डालाई आधार बनाएको भन्दै चर्को विरोध हुन थालेको हो ।
प्रज्ञाप्रतिष्ठान गठन दलीय भागबन्डाको आधारमा नभएर योज्ञता, क्षमता तथा योगदानका आधारमा हुनुपर्छ भन्दै बिहीबार मात्र भाषा–साहित्यका खोजकर्तासमेत रहेका स्थानीय स्रष्टा केशु विरहीले नगरपालिकालाई ध्यानाकर्षण गराएका थिए ।
उनले नगरपालिकालाई ध्यानाकर्षण गराएको विषयले बेलबारीमा तरङ्ग नै ल्याइदिएको छ । विरही विगत लामो समय देखि बेलबारीमै रहेर साहित्यकारिका गरिरहेका लेखक तथा स्रष्टा हुन् । पछिल्लो समय उनी बेलबारीको साहित्य र कलाको खोज अनुसन्धानसमेत गरिरहेका छन् ।
कला साहित्यकै विषयमा खोज गरिरहेको व्यक्तिलाई‘समेत जानकारी नै नगराई केही पार्टीका नेताले चिया गफमा गरेको निर्णयलाई स्वीकार गरी नगरपालिकाले प्रज्ञाप्रतिष्ठान गठन गरेको भन्दै उनले दुःखसमेत व्यक्त गरेका छन् ।
नगरपालिकालाई यसबारेमा ध्यानाकर्षण गराए पछि सञ्चार कर्मीहरूसँग विरहीले भने ‘लामो समयदेखि भाषा साहित्यकै लागि लागिरहेका मानिसलाई जानकारी नै नदिई प्रज्ञा प्रतिष्ठानको गठन भएछ । आफ्नो नगरकै गरीमा बोकेको संस्थाको गठनमा हामीले जानकारी पाउनु पर्छ कि पर्दैन । यो नगरपालिका पार्टीका सदस्यता लिनेको लागि मात्र हो र ? नगरपालिकाले यो कुरा बुझ्नु पर्दैन ? यसले मजस्ता धेरैको मन दुःख दुखेको छ ।’
भाषा, साहित्य, कला संस्कृतिका क्षेत्रका व्यक्तिहरूको भेला नै नगरी, पार्टीका केही व्यक्तिहरूको सहमतिका आधारमा दलीय भागबन्डाका आधारमा प्रतिष्ठानको तदर्थ समितिको गठन गरिएको भन्दै सम्बन्धित क्षेत्रका थुप्रै व्यक्तिहरूले असन्तुष्टि जाहेर गरेका हुन् ।
सुन्दररहैँचा कला साहित्य समितिकाका अध्यक्षसमेत रहेका स्रष्टा छवि वैरागी घिमिरे प्राज्ञिक थलोमा दलीय भागबन्डा स्वीकार्य नहुने विचार व्यक्त गर्दै प्राज्ञिक थलोमा सम्बन्धित विषयमा विज्ञता भएका मानिसलाई मात्र ल्याइनु पर्ने विचार राख्छन् ।
यस्ता संस्थामा दलीय भागबन्डाबाट मानिस ल्याउने विधि नै गलत भएको भन्दै घिमिरेले विशेष महत्व राख्ने प्रज्ञा प्रतिष्ठान जस्तो गरिमामय समितिको गठन हचुवाको भरमा हुनुलाई खेदजनक कार्य भएको प्रतिक्रिया दिएका छन् ।
बेलबारीका स्रष्टा एवम् मूर्तिकार श्याम गौतमले यही क्षेत्रमा विगत लामो समयदेखि संलग्न भएका व्यक्तिलाई जानकारी नै नदिई दलीय भागबन्डाका भरमा प्रज्ञाप्रतिष्ठान गठन भएकोमा दुःख व्यक्त गदै यो निर्णय सच्याउन आग्रह गरेका छन् । उनी आफूले पनि बेलबारी प्रज्ञाप्रतिष्ठान गठन भएको सामाजिक सञ्जालबाट मात्र थाहा पाएको बताउँछन् ।
बेलबारी साहित्य विकास समितिकी अध्यक्षसमेत रहेकी स्रष्टा तिला लेकालीले नगरपालिकालाई ध्यानाकर्षण गराएको विषयलाई उचित कार्य भएको विचार व्यक्त गरेकी छिन् ।
उता साहित्य विकास समितिकै उपाध्यक्ष स्थानीय स्रष्टा रमेश निरौलाले भाषा, साहित्य, कला संस्कृतिका क्षेत्रमा काम गर्दै आएका मानिससँग परामर्श नै नगरी तदर्थ समिति गठन भएको आक्रोश व्यक्त गरेका छन् । ‘कसका लागि यो प्रतिष्ठान गठन गरिएको हो ? दलीय प्रज्ञाप्रतिष्ठान हो भने ठिकै छ । नत्र नगरको भाषा, कला, र साहित्यको विकासमा लागि गठन भएको हो भने सम्बन्धित क्षेत्रका मानिसलाई थाहा दिनु पर्दैन ?’ उनले यस्तो प्रतिक्रिया दिएका छन् ।
त्यस्तै लामो समयदेखि साहित्यमा कलम चलाउँदै आएका स्रष्टा सुन्दर भट्टले दलीय भागबन्डामा प्राज्ञिक संस्थाको गठन हुनुलाई भाषा, साहित्य र कलाको भद्दा मजाक भएको प्रतिक्रिया दिएका छन् ।
बेलबारी नगरपालिकाले असोज ११ गते बेलबारी प्रज्ञाप्रतिष्ठानको ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । तदर्थ समितिमा रहेकामध्ये केहीको साहित्यिक तथा कला क्षेत्रको योगदानको विषयलाई लिएर माथि प्रश्नसमेत उठाइएको छ ।
बेलबारी नगरपालिकाको राजपत्र २०७८ कार्तिक २२ गते बेलबारी प्रज्ञा प्रतिष्ठान ऐन ,स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११(फ) ५ मा भएको व्यवस्थाअनुसार सोही ऐनको दफा १०२ को उपदफा १ बमोजिम नवौँ नगर सभाले सो ऐन पारित गरेको थियो ।