जे.वी थुलुङको नथाक्ने मान्छेको दोस्रो संस्करण सार्वजनिक


बेलबारी, १२ भाद्र । बेलबारीका कलाकार तथा गजलकार जे.वी थुलुङको गजलकृति नथाक्ने मान्छेको दोस्रो संस्करणको लोकार्पण भएको छ । बेलबारीमा शनिवार एक कार्यक्रमकाविच थुलुङको कृतिको लोकार्पण भएको हो ।

२०७७ सालमा विमोचित कृतिमा ६५ वटा गजलहरू सङ्कलित रहेका छन् । विमोचित कृतिमाथिको कवि टीका आत्रेको टिप्पणी रहेको थियो । कृतिमाथिको टिप्पणी गर्दै कवि आत्रेयले थुलुङका गजलले गजलको सैद्धान्तिक परम्परालाई आत्मसात गरेको बताउँदै उनका गजलहरू प्राय गेयात्मक रहेको बताइन् । उनको गजलमा मातृभूमिप्रति श्रद्धा, नयाँ युगको विजारेपण, वैदेशिक पीडा, देशको दिमागको पलायनता, मानवताका पक्षपाती रहेको बताउँदै थुलुङका गजलहरू गायनका लागि पनि उत्तिकै शक्तिशाली भएको बताइन ।

उक्त कार्यक्रममा गायक साजन राई, गजलकार तथा पत्रकार सुविद गुरागाईँ लगायतकाले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख अतिथि दिलप्रसाद राईले पठन संस्कृतिको विकास भइरहेकोमा खुसी व्यक्त गर्दै स्रष्टाले कहिल्यै थाक्नु नहुने बताए । नगरप्रमुख राईले साहित्यको माध्यमबाट बेलबारीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियता चिनाउने काम गरेकोमा स्रष्टाहरूप्रति आभारसमेत व्यक्त गरे ।

कार्यक्रममा गायिका तथा संस्कृतिकर्मी मधु गुरुङ, स्रष्टा ईरान राई, गायिका बालिका पौड्याल, गायक सञ्जीव धिमाल लगायतको सहभागिता रहेको थियो । स्रष्टा समाजकी उपाध्यक्ष तिला लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भने कवि रेखा सुवेदीको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्