विराटनगरको मल्हन्वा टोलमा दुई पक्षबिच झडप हुँदा १० जना घाइते : एक गम्भीर


विराटनगर, ८ भदौ । मोरङको विराटनगर महानगरपालिकामा दुई पक्षबिच झडप हुँदा १० जना घाइते भएका छन् । मङ्गलवार साँझ वडा नं.१२ मल्हन्वा टोलमा दुई पक्षबिच झडप भएको हो ।
१० जना मध्य एक जना अवस्था गम्भीर रहेको छ । पुरानो रिसईबीलाई लिएर गोपाल राजवंशी र राजकुमार कामतको समूहबिच दोहोरो झडप भएको प्रहरीको भनाई छ । घटनामा राजकुमार आफै घाइते भएका छन् । गम्भीर अवस्थाका उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

झडपमा परेर राजवंशीतर्फका अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका छन्। कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय जितनारायण राजवंशी र राजीव राजवंशी बजारबाट घरतर्फ फर्कँदै गर्दा राजकुमार कामतको घरअगाडि पुगेपछि दुई पक्षबिच विवाद भएको थियो । घटना थाहा पाउने बित्तिकै प्रहरी पुगेर दुवै पक्षलाई सम्झाईबुझाई गरेर पठायो ।

तर केही बेरमा बाँस, भाटा र लट्ठी लिएर भेला भएका दुई पक्षीबिच दोहोरो झडप भएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनाअनुसार केही दिनअघि दिनेश कामतले चलाएको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएको थियो । त्यति बेला दिनेशमाथि कुटपिट पनि भयो । दुर्घटनाका विषयमा प्रहरीमा मिलापत्र भएको थियो ।

त्यही घटनाको रिसईबीलाई लिएर विवाद झिकिएको र विवाद दोहोरो झडपमा परिणत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिएसपी श्रेष्ठले झडपमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्