सुन्दरहरैचा ११ बेलेपुरमा आगलागी : एक पुरुषको मृत्यु


सुन्दरहरैँचा, २ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ११ स्थित बेलेपुरमा एउटा घरमा आगलागीबाट एक जना पुरुषको मृत्यु भएको छ । बुधवार राति बालकृष्ण गिरीको घरमा भएको आगलागीमा सुतिरहेको अवस्थामा ३८ वर्षीय कुमार श्रेष्ठको जलेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार करिब रातको ११ बजे आगलागी भएको हो । आगलागी विद्युत् सर्टको कारण भएको हुन सक्ने प्रहरीको अनुमान गरिएको छ । तर आगलागीको यकिन कारण भने खुल्न सकेको छैन । घर टिनको छानो भएको, काठ र इँटा प्रयोगले बनेको दुई तले घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका सुन्दरहरैँचा–११ का ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जनाएका छन् ।

प्रहरीका अनुसार मृतक श्रेष्ठ गिरीको नयाँ घरमा पेन्टिङको काम गर्दै तीन दिनदेखि उनकै घरमा बस्दै आएका थिए । उनी प्रष्टसँग बोल्न र सुन्न सक्दैन थिए । श्रेष्ठको शव आगोले जलेर चिन्नै नसकिने अवस्थामा भेटिएको थियो । शव पोस्टमार्टमको लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।

प्रहरीका अनुसार आगोले गिरीको पुरानो घरसहित घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, नगद लगायत घरायसी सामान सबै जलेर नष्ट भएको छ । आगोले घरसहित सबै सामान जलेर ध्वस्त भए पनि घर परिसरमै रहेको काठमिलमा भने कुनै क्षति नपुगेको प्रहरीले जनाएको छ । घटनामा २२ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । यद्यपि क्षतिको विवरण सङ्कलनको काम जारी रहेको डिएसपी श्रेष्ठको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा गएको टोलीले दमकल र स्थानीयको सहयोगमा आज (बिहीबार) बिहानका राति २ बजेतिर आगो नियन्त्रणमा लिएको हो । आगो नियन्त्रणका लागि विराटनगर, इटहरी, सुन्दरहरैँचा र बेलबारीबाट चारवटा दमकल घटनास्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्