२८ औँ विश्व आदिवासी दिवसको अवसरमा जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान


बेलबारी, १ भदौ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वयन परिषद् बेलबारीको आयोजनामा २८ औँ विश्व आदिवासी जनजातिको अवसरमा आदिवासी जनजातिप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनद्वारा निर्वाचित बेलबारीका जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना प्रदान गरिएको हो ।

आदिवासी जनजाति आयोगका सदस्य शरण कुमार राईले कार्यक्रममा बधाई तथा शुभकामना व्यक्त गर्दै, प्रदेशको नामकरण गर्न नसकेसँगै मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा सहभागी हुन समेत नैतिक आधार सकिएको बताएका छन् । ‘प्रदेश १ को नामकरणको विषयमा टुङ्गो नलागी मङ्सिर ४ गते चुनाव हुँदै छ, अब के आधारमा भोट माग्न आउने छन्, राईले भने ।’

लाहोरनिपका प्रदेश संयोजक गोपाल देवानले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा जारी संघियता आदिवासी जनजातिको मर्म विपरीत साथै अवैज्ञानिक रहेको बताएका छन् । राज्य पुनर्संरचनाको सिफारिसलाई अस्वीकार गर्दै अवैज्ञानिक रूपमा जारी भएको संघियताले आदिवासी बिचै द्वन्द्व सृजना गर्ने षडयन्त्र रहेको देवानले बताए ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख डि.पी राई साथै आदिवासी जनजाति जनप्रतिनिधिहरू वडा अध्यक्ष, कार्यपालिका सदस्य, सदस्य, पार्टीका प्रतिनिधि, जातीय संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । बधाई तथा शुभकामना प्रदान गर्नुको साथै सांस्कृतिक नृत्य पनि प्रस्तुति गरिएको थियो ।

कार्यक्रमको सञ्चालन संघका सचिव मनकुमार गुरुङले गरेका थिए भने तिलकप्रसाद राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्