बेलबारीमा भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारलाई निस्सा प्रमाण वितरण सुरु (फोटो फिचर)


बेलबारी, २५ श्रावण । बेलबारी नगरपालिकामा भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारलाई निस्सा प्रमाण वितरण कार्य सुरु गरेको छ । मङ्गलवारदेखि बेलबारी वडा नं.३ बाट निस्सा वितरण कार्य सुरु भएको हो ।

बेलबारी ३ मा भूमिहीन दलित ५ परिवारलाई निस्सा प्रमाण वितरण गरेको छ । वितरण कार्यको सुरुवात बेलबारी नगरपालिकाका प्रमुख डि.पि राई, उपप्रमुख नितु थापा साथै वडा अध्यक्ष योगेन्द्र सुवेदीद्वारा भएको थियो ।

अव्यवस्थित बसोबासीहरूले भने केही समय पछि मात्र निस्सा प्रमाण प्राप्त गर्ने वडा कार्यालयले जनाएको छ । ३१ गते सम्मको लागि दाबी–विरोध गर्न पाउने म्याद रहेको छ । निस्सा प्रमाणको आधारमै जग्गा धनिपुर्जा वितरण हुने छ ।

प्रक्रिया नपुराई धनिपुर्जा मिलाई दिने ठगहरूबाट सचेत हुन प्रमुख राईले आग्रह गरेका छन् । धनीपुर्जा चाँडो दिलाई दिने प्रलोभनमा कसैले पैसा माग्छ नगरपालिका, वडा कार्यालय अथवा प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरे ।

उनले भने, ‘जसलाई भूमिहीन भनिएको छ । जसले रातो फारम भर्नु भएका छ, एक पैसा नतिरी धनीपुर्जा पाउनु हुन्छ । कहीँ जग्गा छैन तर फारम भर्नु भएको छ, राज्यले ढिलो–चाँडो भए पनि दिलाई दिने काम गर्छ । तर त्यसको निम्ति पैसा लिने काम गर्दैन ।’

एक वर्ष अगाडी फारम भरेको आधारमा निस्सा प्रमाण वितरण गरिएको र चाडै नापी घर–घरमा आउने वडाध्यक्ष सुवेदीले बताए । सुवेदीले निस्सा प्रमाण सुरक्षित राख्न सबैलाई आग्रह गर्दै संविधानमा ग्यारेन्टी गरेको हुँदा धनीपुर्जा सुनिश्चित रहेको बताए ।

विगतमा धेरै झुकिए पनि निस्सा प्रमाण पाएसँगै धनिपुर्जा पक्का पाउने स्थानीयमा आशा र खुशी बढेको छ । स्थानीय लक्ष्मीमाया विश्वकर्मा भन्छिन्, ‘अब चैँ पाउँछौ भन्ने आशा लागेको छ । पहिले पिर थियो, दुखले बसिएको थियो अहिले धरै आशा भइरहेको छ । खुशी छु ।’

प्रतिक्रिया दिनुहोस्