काठमाडौं, १५ कार्तिक । बलात्कार प्रयास अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतमा महराको बयान लिइएको हो ।
जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलाशमा शुक्रबार महराको अदालती बयान सकिएको र आइतबार थुनछेक बहस हुने तय भएको हो । उनलाई आइतबार थुनछेक बहसमा लागि अदालतमा उपस्थित गराउने अनुमति पनि दिइएको अदालतका फैसला कार्यान्वयन अधिकारी संजीव पोखरेलले जानकारी दिए।
शुक्रबार महराले न्यायाधिश सुर्दशनराज पाण्डेको एकल इजलासमा बयान दिएका थिए । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ। अदालतको फैलसा कार्यान्वयन अधिकारी पोखरेलले बहस नसकिएकाले महराबारे थप अरु केही भन्न नमिल्ने पनि बताए।
उनले बयानमा आफूमाथि लागेको बलात्कार प्रयासको आरोप निराधार भएको दावी गरेका छन् । सरकारी वकिलसँगको वयानमा महराले आफू सो तीनकुनेसम्म गएको भए पनि पीडित भनिएकी महिलाको कोठामा नपसी फर्किएको बताएका छन् । महराले बयानमा महिलाको कोठामा नपसी बाहिरैबाट फर्किएको बताए पनि प्रहरीले तथ्यहरुले महरा कोठामा प्रवेश गरेको देखिएको दावी गरेको छ ।
यस्तो छ महराको बयान
२०४७ सालदेखि झण्डै चार वर्ष रोल्पा जिल्लामा रहेको मेरो घरमा वृत्त नयाँ बानेश्वर २६–३०) २०७६–७७, बसेकी हुँदा निज (पीडित महिला) लाई पहिलेदेखि नै चिन्छु । उनी मेरो विद्यार्थी जस्तै हुन् । मलाई अहिले पनि महरा सर भनी सम्बोधन गर्छिन् । म उनको अभिभावक नै हुँ । उनको विवाहमा समेत मैले अभिभावकको भूमिका निभाएको थिएँ ।
२०४८ सालमा म सांसदमा निर्वाचित भएपछि निजसँग भेट भएको थिएन । ३ वर्षअघि उनले मलाई भेट गरी म अस्वस्थ छु, मलाई संसद सचिवालयमा काजमा ल्याई दिनुपर्यो भनेकी थिइन् । त्यसपछि पटक–पटक निरन्तर उनको परिवार र मेरो परिवारबीच आउने–जाने, खाना खाने सन्दर्भमा भेट भइरहन्थ्यो ।
यसै क्रममा मिति २०७६–०६–१२ गतेका दिन अञ्दाजी ३–४ बजेको समयमा सिंहदरबारस्थित मेरो अफिसमा उनी आई मेरो समायोजन मिलेन, म अन्यायमा परें भनी कर्मचारी समायोजनमा आफूलाई मिलाउन भनी मलाई पटक–पटक अनुरोध गर्दै आक्रोशपूर्ण गुनासो गरेकीले मैले समायोजनका बारेमा सम्बन्धित निकायलाई भनिदिएको हुँ ।
तर, कम्प्युटर सेटिङले मिलाउने भएकाले अहिले सकिएन, अहिले सरकारले जहाँ खटाएको छ त्यहाँ जानु, पछि काजमा मिलाउने कोशिस गरौंला भनेको थिएँ । तर, उनी आवेग र आक्रोशमा अफिसबाट फर्केकी थिइन् ।
आक्रोशमा आएपछि उनको स्वास्थ्य प्रतिकूल हुने र विक्षिप्त अवस्थामा पुग्ने भन्ने कुरा मैले सुनेको थिएँ । केही समय अगाडि यस्तै घटनाक्रमले अति नै विक्षिप्त भई सिभिल अस्पतालमा उपचार गराएको कुरा पनि मैले उनको श्रीमानबाट थाहा पाएको थिएँ ।
यतिबेला भने उनका श्रीमान काठमाडौ बाहिर भएको, मैले टेलिफोन गर्दा सम्पर्क हुन नसकेकाले एकपटक फेरि सम्झाउने उद्देश्यले म मेरो छोरा निर्मल महराले प्रयोग गर्ने निजी गाडीमा तीन जना सुरक्षाकर्मीसहित मिति २०७६–०६–१२ गते अञ्दाजी बेलुका ७ बजेपछि निवासबाट गैरीधारा, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, तीनकुने हुँदै उनको कोठानजिकै पुगी गाडीबाट बाहिर निस्केर पटक–पटक फोन गर्दा सम्पर्क हुन नसकेपछि निजका श्रीमान समेत कोठामा नभई बाहिर भएकाले निजको कोठामा जान उचित नठानी अञ्दाजी २०–२५ मिनेटपछि सोही गाडीमा सुरक्षाकर्मीसहित फर्की निवासमा आएको हुँ ।
घटनास्थलबाट बरामद भएको चश्माको सीसा, डण्डी र जुत्ताको जिब्री (भित्री तलुवा) मेरो होइन । प्रायोजित हिसाबले मलाई फसाउन मेरो पुरानो फालिएको चश्माको सीसा, डण्डी र जुत्ताको तलुवा समेत राखेको हुन सक्छ ।
मैले रक्सी बोकेर निजको कोठामा गएको कुरा विल्कुलै निराधार हो । निजको कोठामा नगएकाले कुटपिट गर्ने कुरै भएन । पत्रकार अजयबाबु शिवाकोटी र जाहेरवालाबीचमा संवाद रेकर्डका कुरा सबै प्रायोजित हुन् ।
सम्पूर्ण समस्याको कारण मोवाइल ठानेर रिसमा फुटाई दिए : सीता महरा
२०७६–०६–१३ गते विभिन्न सञ्चार माध्यमहरुमा मेरा श्रीमान कृृष्णबहादुर महराले मिति २०७६–०६–१२ गते‘ निज पीडितको कोठामा गई जबरजस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोवाइलबाट पीडितको मोवाइलमा म्यासेज समेत पठाएको भन्ने समाचारहरु आएपछि मलाई रिस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोवाइल भएको ठानी निजले प्रयोग गर्ने मोवाइल मैले खोसेर फाली फुटाई दिएकी थिएँ । उक्त मोवाइल फुटाएको भए पनि सुरक्षित साथ राखेकोमा पछि कोठा सर्ने क्रममा के कता हरायो, थाहा भएन ।