शिक्षा सन्देशमा एसईई गट ट्यालेन्ट हुने


बेलबारी, २३ असार । विद्यार्थीमा रहेको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यका साथ बेलबारी २ लालभित्तीमा रहेको शिक्षा सन्देश इङ्लिस स्कुलले आगामी शनिवार एसईई गट ट्यालेन्ट कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोजकले आज ड्रिमल्याण्ड फनमा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल राजेश खत्रीले गायन, नृत्य, भूटवल, भलिबल तथा अन्य गरेर विभिन्न विधामा प्रतियोगिता हुने बताए । उनले गायन र नृत्यमा प्रथम हुनेलाई ५० प्रतिशत, दोस्रोलाई २० प्रतिशत र तेस्रोलाई १० प्रतिशत छात्रवृत्ति दिने बताए । त्यस्तै भलिबलमा ५० र ओराटरिमा ३० प्रतिशत छात्रवृत्ति दिने पनि प्रिन्सिपल खत्रीले बताए ।

शिक्षा सन्देशले विगत लामो समयदेखि होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्राभल एन्ड टुरिजम र कानुन विषयको पठनपाठन गराउँदै आएको छ । आफूहरू लामो समयदेखि ग्रामीण भेगमा रहेर पनि नगरको शैक्षिक गुणस्तर वृद्धिका लागि काम गरिरहेको विद्यालयका काउन्सिलर भूपाल बस्नेतले बताए । यस अघि पनि विद्यालयले विभिन्न कारणले अभिभावक गुमाएका तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई निःशुल्क रूपमा पठनपाठन गराउँदै आएको छ ।

कार्यक्रममा विद्यालयका अध्यक्ष देवी सुवेदी, ड्रिमल्याण्ड फनका सञ्चालक विजय सुबेदीको लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्