बेलबारीमा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न


बेलबारी, ६ असार । विद्यार्थीहरूमा रहेको क्षमतालाई प्रष्फुटन गर्ने उद्देश्यले विज्ञान शिक्षकहरूको समूह स्टान प्रदेश नं १ र युनेस्कोको संयुक्त आयोजनामा बेलबारीमा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । बेलबारी २ लालभित्तीमा रहेको कबिर माविमा आयोजना गरेको प्रदर्शनीमा प्रदेश नं १ का विभिन्न ६ जिल्लाका विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले गरेका थिए । उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राईले हामीले बोल्ने शब्दमासमेत विज्ञान रहेको बताउँदै विज्ञान सर्वत्र रहेको बताए । विज्ञान विषयका शिक्षकसमेत रहेका राईले यस्ता कार्यक्रमले बालबालिकामा रहेको प्रतिभालाई उजागर गर्न सहयोग गर्ने बताए ।

बेलबारी नगरपालिकाका वडा नं २ का अध्यक्ष कृष्णबहादुर गुरुङले कार्यक्रमले विद्यार्थीमा लुकेर रहेको प्रतिभा प्रष्फुटन गर्ने बताउँदै यस्तो महत्त्वपूर्ण कार्यक्रमको आयोजनामा सहकार्य गरेकोमा आयोजकलाई धन्यवाद दिए । “स्टान –युनेस्को स्टुडेण्ड हन्ट“ नाम दिएको यो कार्यक्रम वडाकै आर्थिक सहयोगमा सम्पन्न भएको थियो । वडा अध्यक्ष गुरुङले आगामी दिनमा पनि यस्ता कार्यक्रममा वडाको सहयोग रहने प्रतिविद्धतासमेत जाएर गरे ।

२०६६ सालमा स्थापना भएको यस संस्थाले समय समयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको स्टान प्रदेश तदर्थ समिति संयोजक अभय लिम्बू बताउँछन् । लिम्बू मौसममा आएको खराबीका कारण प्रदेश नं १ का ६ वटा जिल्लाका १० वटा विद्यालयको मात्र सहभागिता रहे पनि कार्यक्रमका विद्यार्थीको सहभागिता भने उत्साहजनको रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूले विद्यार्थीले तयार पारेका विज्ञान उपकरणहरू तथा स्टलहरूको अवलोकन गरेका थिए । कार्यक्रममा बेलबारी नगरपालिका वडा नं २ का पूर्व वडाध्यक्ष घनश्याम गौतम, वडा सदस्य दीपक लिम्बू, कबिर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली पुरी, विद्यालयका प्रअ प्रेम कार्की, पूर्व प्रधानाध्यापक दुर्गाप्रसाद गौतम, कसेनी माविका प्रधानाध्यापक नरप्रसाद भण्डारी, भगवती माविका प्रअ नारायणप्रसाद आचार्य, प्रविधिमैत्री शिक्षक सङ्घका सचिव छत्रपति दाहाल लगायतको उपस्थिति रहेको थियो ।

विज्ञान शिक्षक समाज प्रदेश नं १ तदर्थ समितिका सह संयोजक विश्वराज गौतमको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन भने संस्थाका प्रवक्ता सचिन पौडेल रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्