बेलबारीमा विजयी जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण


बेलबारी, ७ जेठ । बेलबारी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाण पत्र प्रदान गरिएको छ । नगरपालिकामा आज (शनिवार) एक कार्यक्रमको आयोजना गरेर निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण गरिएको हो।

निर्वाचन अधिकृत बालकृष्ण निरौलाले निर्वाचित प्रतिनिधिलाई प्रमाण पत्र वितरण गरेका थिए । प्रमाण पत्र वितरण कार्यक्रममा नेकपा एमालेका नगर कमिटी अध्यक्ष इरान राई, नेपाली काँग्रेस नगर सभापति छत्र लिम्बू, माओवादी केन्द्रका नगर अध्यक्ष पर्शुराम सुवेदी, राष्ट्रिय मुक्ति मोर्चाका सन्तोष सुब्बा लगायत, अन्य राजनैतिक पार्टीका प्रतिनिधि तथा दुईवटै सुरक्षा निकायका प्रमुखहरूको समेत सहभागिता रहेको थियो । प्रमाण पत्र वितरण कार्यक्रममा स्वतन्त्र र माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधि भने उपस्थित थिएनन् ।

बिहान ७ः३० का लागि बोलाइए पनि निर्वाचित प्रतिनिधिहरूलाई समयमा नआउँदा कार्यक्रम सुरु हुन निकै ढिलाइ भएको थियो । निर्वाचित भएको प्रमाण पत्र लिन पनि समयमा आउन नसक्ने जनप्रतिनिधिबाट पुरै कार्यकालमा समयको परिपालन नहुने त होइन भन्ने आशङ्का बढेको छ । बेलबारीमा प्रमुखसहित वडा नं २,३, ५,७ नं वडा एमाले र उपप्रमुखसहित १,४,६, ९,१० र ११ नं वडा नेकाले जितेको छ ।

बेलबारी नगरपालिका वडा नं ८ बाट स्वतन्त्र रूपमा विजयी भएका वडा अध्यक्ष धनपति गौतम र वडा नं ७ बाट खुल्ला सदस्यमा निर्वाचित भएका जीवन खनाल उपस्थित नहुँदा ५७ मध्ये ५५ जनाले मात्र प्रमाण पत्र बुझेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्