भोट कसरी गर्ने ?


बेलबारी, २९ वैशाख । स्थानीय निर्वाचनको अन्तिम तयारी भइरहँदा मतदाता सर्वसाधारण भने अझैँ पनि कसरी भोट हाल्ने भन्नेमा अन्योलमा देखिएका छन् । झन् गठबन्धन र स्वतन्त्र सांसदको सङ्ख्या बढी भएकाले यसपालि मत बदर हुने सम्भावना बढी देखिएको जानकारहरू बताउँछन् । मतदातामा देखिएको अन्यौलतालाई चिर्न भोट कसरी हाल्ने भन्ने केही प्रश्नको उत्तरमार्फत जानकारी दिने जमर्को गरिएको छ ।

यस निर्वाचनमा कति जनालाई भोट हाल्नु पर्छ ?

उत्तर – तपाईँले सात जनालाई भोट हाल्नुपर्छ । पहिलो भोट, गाउँपालिका अध्यक्ष वा नगर प्रमुखका लागि पहिलो कोलममा रहेको कुनै एउटा चुनाव चिन्हमा संकेत गर्नुस् । दोस्रो भोट, गाउँपालिका उपाध्यक्ष वा नगर उपप्रमुखका लागि दोस्रो कोलममा दिनुस् । तेस्रो भोट, वडाध्यक्षका लागि हो । यसका लागि तेस्रो कोलममा भएको कुनै एउटा चुनाव चिन्हमा स्वस्तिक छाप लगाउनुस् । चौथो भोट, महिला वडा सदस्यका लागि चौथो कोलममा दिनुस् । पाँचौँ भोट, दलित महिला वडा सदस्यका लागि पाँचौँ कोलममा दिनुस् । छैटौँ र सातौँ भोट, दुई जना वडा सदस्यका लागि मतपत्रको पछिल्ला दुई कोलममा रहेका चिन्ह मध्ये कुनै दुई चिहानमा मतदान गर्नुहोस् ।

सातै जनालाई भोट हाल्नुपर्छ कि कुनै एक वा दुईलाई मात्रै पनि हाल्न पाइन्छ ?

उत्तर – सात जनालाई मत दिन पाउने तपाईँको अधिकार हो । तर, तपाईँले म छनोट गरेर केहीलाई मात्रै मत दिन्छु भन्न सक्नुहुन्छ ।

प्रमुख वा उपप्रमुखमा फरक–फरक पार्टीलाई मत दिन सक्छु ? कसरी दिने ?

उत्तर – सात जनालाई मत दिनुपर्छ भन्नुको अर्थ एउटै तर्सो लहरमा मात्र दिनुपर्छ भनिएको होइन । छनोट तपाईँको अधिकार हो । यदि तपाई प्रमुख र उपप्रमुखमा फरक–फरक दललाई मत दिन चाहनुहुन्छ भने पनि त्यसो गर्न सक्नुहुन्छ । तर, मतपत्रको पहिलो ठाडो कोलममा रहेका चिन्हहरू प्रमुखका लागि मात्रै हुन् । दोस्रो ठाडो कोलम उपप्रमुखको हो । प्रत्येक कोलममा भएका राजनीतिक दलको चुनाव चिन्ह मध्ये कुनै एउटामा मत दिन सक्नुहुन्छ ।

यदि मैले एउटै कोलममा तलमाथि मत दिए बदर हुन्छ ?

उत्तर – हो । सुरुवातका पाँचवटा ठाडो कोलम एक एक पदका लागि हो । तपाईँले एउटा ठाडो कोलममा भएका चुनाव चिन्हहरू मध्ये एकमा मात्रै मत दिन सक्नुहुन्छ । तर, पछिल्ला दुई ठाडो कोलममा भने तपाई एउटै वा पहिलो दोस्रो कोमलमा भएका एक–एक चुनाव चिहानमा मत दिन सक्नुहुन्छ ।

पछिल्ला दुईवटा कोलममा एउटैको तलमाथि छाप लगाउन मिल्छ ?

उत्तर – मिल्छ । पछिल्ला दुई ठाडो कोलममा भने तपाईँले एउटै हारमा वा पहिलो दोस्रो कोमलमा भएका एक–एक चुनाव चिन्हमा मत दिन सक्नुहुन्छ ।

अन्तिम कोलममा एउटै कोठामा दुईवटा चुनाव चिन्ह रहेछन्, यस्तोमा के गर्ने ?

उत्तर – मतपत्रको अन्तिममा भएको एउटै कोठाभित्रका दुईवटा चिन्हहरू पनि एकै जना उम्मेदवारका लागि हो । त्यसमा लगाइएको छापले एक जनालाई मात्रै मत दिएको ठहरिन्छ । पछिल्ला यी दुई कोलमहरु वडा सदस्य खुलातर्फका लागि हो । यसमा एउटै पार्टीका दुई उम्मेदवार हुने भएकाले कुन उम्मेदवारको चुनाव चिन्ह कुन हो भनेर पहिचान गर्न निर्वाचन आयोगले पहिलोमा एउटा र दोस्रोमा दुईवटा चिन्हको व्यवस्था गरेको हो । मानौँ ए नामको पार्टी दुई वडा सदस्यमा खुलातर्फ रामबहादुर र श्यामबहादुरलाई उम्मेदवार बनाएको छ भने आयोगले एक जनालाई एउटा चिन्ह दिएको छ र अर्का उम्मेदवारलाई दुईवटा चिन्ह प्रदान गरेको हुन्छ ।

के दुईवटा चुनाव चिन्ह भएको ठाउँमा दुई पटक स्वस्तिक छाप हान्नुपर्छ ?

उत्तर – पर्दैन । दुईवटा चुनाव चिन्ह भएको ठाउँमा पनि एक चोटि मात्रै छाप हाने पुग्छ । तपाईँले उक्त बक्सभित्र एक पटक मात्र स्वस्तिक छाप हान्नुपर्छ । नत्र रद्द हुन्छ । दुईवटा खुला वडा सदस्य पदमा मलाई बेग्लाबेग्लै पार्टीका उम्मेदवारलाई मत दिन मन छ ।

एउटै ठाडो लहरमा स्वस्तिक छाप हान्न सक्छु ?

उत्तर – सक्नुहुन्छ । मतपत्रको छैटौँ र सातौँ कोलममा मत दिँदा दुईवटा कोठामा दिनुपर्छ । तर, एउटै लहरमा नभई अलग–अलग चिन्हमा मत दिन सक्नुहुन्छ । यसो गर्दा खुल्ला वडा सदस्यमा तेस्रो वा ठाडो जता पनि रोज्न सक्नहुन्छ । तर, यसो गर्दा ध्यान दिनुस्, एउटा कोलममा अधिक मत दुई जनालाई मात्रै मत दिन सकिन्छ ।

पार्टीको चुनाव चिन्ह माथि नै स्वस्तिक छाप हान्दा मत बदर हुन्छ ?

उत्तर – हुँदैन । सबैभन्दा राम्रो चुनाव चिह्न नजिकै रहेको खाली ठाउँमा मत दिनुस् । तर, यदि चुनाव चिन्ह माथि नै स्वस्तिक छाप लगाइयो भने पनि बदर हुँदैन ।

कस्तो अवस्थामा मैले दिएको मत बदर हुनसक्छ ?

उत्तर – मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एक भन्दा बढी उम्मेदवारलाई मत दिएमा बदर हुन्छ । त्यस्तै छैटौँ र सातौँ पदका लागि दुई कोलम दिइएकोमा दुई भन्दा बढी उम्मेदवारलाई मत दिएमा पनि बदर हुन्छ । मत संकेत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी लतपतिएमा पनि तपाईँको मत बदर हुन्छ । यस्तै स्वस्तिक छाप बाहेक अरू छाप लगाए वा संकेत गरेमा पनि तपाईँको मत बदर हुन्छ । त्यस्तै दुई वटा चुनाव चिन्ह रहेको कोठाको बिचमा एक अर्कालाई छुने गरी गरी स्वस्तिक छाप लगाएमा पनि तपाईँको मत बदर हुन्छ । उम्मेदवारको चिन्ह रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ ।“

प्रतिक्रिया दिनुहोस्