बेलबारीमा जसपा र काँग्रेस बिच गठबन्धन : मेयरका उम्मेदवारलाई सघाउने, उपमेयरमा प्रतिस्पर्धा


बेलबारी, २५ वैशाख । बेलबारीमा जनता समाजवादी पार्टी नेपालले नेपाली काँग्रेसका मेयर पदका उम्मेदवारलाई सघाउने भएको छ । आज (आइतबार) बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फनमा संयुक्त पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो ।

तर उपमेयरको हकमा भने गठबन्धन लागु नगर्ने भएको छ । दुवै पार्टीका उपमेयरका उम्मेदवारले प्रतिस्पर्धा गर्ने छन् । जनता समाजवादी पार्टी नेपालका प्रदेश कमिटी सदस्य केदार धिमालले पाँच दलीय गठबन्धनको भावनाअनुसार यस्तो निर्णय गरिएको बताए ।

जसपाले मेयरमा काँग्रेसलाई सहयोग गरे पनि अन्य पदमा भने स्वास्थ्य प्रतिस्पर्धा रहने बत्ताइएको छ । जसपा नेपालका नगर समितिका अध्यक्ष तिलक साम्पाङ राईले प्रतिगमनका विरुद्धमा एकजुट भएको सन्दर्भ उल्लेख गर्दै सोही अनुसार निर्वाचनमा सहकार्य गरिन लागिएको बताए ।

पत्रकार सम्मेलनमा नगरप्रमुख पदका प्रत्याशी महेन्द्र सुवेदी, उपमेयरका उम्मेदवार नितु थापा, डा. केदार गुरागाईँ, महासमिति सदस्यहरू नगेन्द्र जमरकट्टेल र मानबहादुर लिम्बू लगायतका नेका तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेसका नगरसभापती छत्र लिम्बूले दुई दिन भित्र थप गठबन्धनको जानकारी गराउने बताएका छन् । कार्यक्रममा नेकाका लिम्बु तथा जसपा नेपालका नगर अध्यक्ष तिलक साङ्पाङ राईको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने क्षेत्रीय समिति सचिव राजेन्द्रबहादुर अधिकारीको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्