बेलबारीलाई समुन्नत बेलबारी बनाउनेमा मेरो ध्यान जानेछ : महेन्द्र सुवेदी


बेलबारी, २० वैशाख । नेपाली काँग्रेस बेलबारी नगरपालिकाका मेयर पदका उमेद्वार महेन्द्र सुवेदी आफ्नो ध्यान समुन्नत बेलबारी बनाउनेमा रहने बताउँछन् । कोशी नेपाल मिडियासँग कुराकानी गर्दै मेयर पदका उमेद्वार सुवेदीले यस्तो बताएका हुन् ।

बेलबारीका विभिन्न संस्थाको नेतृत्व गरिसकेका सुवेदी बेलबारीका समस्यालाई आफूले नजिकबाट नियालेको बताउँदै निर्वाचित भए पछि ती समस्याको समाधानमा लाग्ने बताउँछन् । उनी भन्छन् – मैले बेलबारीलाई नजिकबाट नियालेको छु । बेलबारीको विकास हुन नसक्नुका कारण पनि मैले राम्ररी बुझेको छु । तसर्थ निर्वाचित भएर आए पछि म ती समस्यालाई समाधान गर्नेतर्फ लाग्ने छु ।

नेपाली काँग्रेसका महासमिति सदस्यसमेत रहेका सुवेदी जनतासामु लोकप्रिय नेता मानिन्छन् । बेलबारीबासीका सुख दुःखमा सँगै रहेकोले नगरप्रमुख पदमा जित्न आफूलाई निकै सहज हुने उनको तर्क रहेको छ । घरदैलो कार्यक्रममा व्यस्त रहेका सुवेदी यसक्रममा जनताबाट धेरै सुझाव र सल्लाह आएका ती सल्लाह र सुझावलाई पूरा गर्न आफू कटिबद्ध रहेको बताउँछन् ।

कुनै पनि हालतमा आफू जनताको विश्वासलाई कमी हुन नदिने, समृद्ध बेलबारी बनाउन आवश्यक सबै खाले काम गर्ने प्रतिबद्धता पनि जायर गर्छन् । स्वास्थ्य, शिक्षा पर्यटन तथा कृषिको समुचित विकासले नै बेलबारीलाई माथि पुर्याउन सकिने उनको बुझाइ रहेको छ । कृषिलाई विशेष जोड दिने, किसानको खेतमा सिँचाइको सुविधा पुर्याउने, समयमै बिउ विजन तथा मल खादको उपलब्धता गराउने उनका योजना रहेका छन् ।

बेलबारी पर्यटनको राम्रो सम्भावना रहेको बताउँदै यसको विकास गर्न सके बेलबारीलाई समुन्नत बनाउन सकिने उनको धारणा रहेको छ । बेलबारीमा स्वास्थ्य क्षेत्रमा ठूलो समस्या रहेको बताउँदै त्यसको समाधानमा आफू लागिपर्ने बताउँछन् । शिक्षा नीतिमा परिवर्तन गरेर सबैको पहुँचमा शिक्षा बनाउने, १२ कक्षासम्म निःशुल्क बनाउने उनको लक्ष रहेको छ । बजार व्यवस्थापनमा पनि उनको जोड रहेको छ ।

इच्छा शक्तिको खाँचो रहेको बताउँदै बेलबारीप्रतिको मोहले आफूले अन्य कुरा छाडेर राजनीतिलाई रोजेको बताउँछन् । भष्ट्रचारलाई शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, फजुल खर्चलाई कम गर्ने उनको कार्यकालको नीति रहेको छ । विभिन्न सङ्घ संस्थामा नेतृत्व गरेका सुवेदी आफूले गरेका कामहरूको मूल्याङ्कन आम बेलबारीवासीले गर्नेमा ढुक्क छन् । उनी भन्छन् ‘मैले गरेका कामको जनताले नजिकबाट देखेका छन् । आसा छ बेलबारीवासीले मेरो योगदानको उचित मूल्याङ्कन गर्ने नै छन् ।’

प्रतिक्रिया दिनुहोस्