विराटनगरको विकासका लागि महानगरको नेतृत्व एमालेले गर्नुपर्छ : गुरु बराल


विराटनगर, १८ वैशाख। नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले विराटनगरको विकासका लागि नेकपा एमालेले महानगरको नेतृत्व लिन आवश्यक रहेको बताउनुभएको छ । १३३ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेता बरालले वैशाख ३० गतेको निर्वाचन पछि महानगरले एमालेको नेतृत्व पाउने समेत विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भीम पराजुली नेतृत्वको महानगरले पूर्व मेयरले गरेका काम र संघीय सरकारले गरेका कामलाई देखाएर भजाउने काम मात्र गरेको बताउनुभयो । उहाँले महानगरको चौतर्फी विकासको लागि नेकपा एमालेको नेतृत्व चाहिन्छ, त्यो कुरा महानबासीले बुझेको दाबी गर्नुभएको छ । उहाँले राजनीतिक कालखण्डमा मजदुरले निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभयो । यस्तै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले सत्ता गठबन्धनले महिलाका संवैधानिक, राजनीतिक अधिकार हनन गरेको बताउनुभयो ।

स्थानीय तहको प्रमुख तथा उपप्रमुख मध्ये एक महिला हुनुपर्ने प्रावधानलाई कुल्चिँदै गठबन्धनको नाममा महिलामाथि विभेद गरेको आरोप लगाउनुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशका सह इन्चार्ज विनोद ढकालले राष्ट्रिय राजनीतिमा पनि विराटनगरका मजदुरहरुको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै सदैव मजदुरका पक्षमा रहने पार्टी भनेकै नेकपा एमाले रहेको दाबी गर्नुभयो । उहाँले मजदुरहरूका हकअधिकारलाई सुनिश्चित गर्न पनि नेकपा एमालेकै नेतृत्व चाहिने भन्दै केपी ओली नेतृत्वको सरकारले मजदुरका पक्षमा ल्याएका योजनाहरूको चर्चा गर्नुभयो । नेता ढकालले विराटनगरकै माटोमा हुर्के बढेको र श्रमिक मजदुरहरूकै माझबाट राजनीतिमा सक्रिय युवा नेता सागर थापालाई महानगरको मेयरको उम्मेदवार बनाइएको भन्दै नेतृत्वमा पुर्‍याएर आ–आफ्नो अधिकारलाई बुलन्द गर्न आग्रह गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै मेयरका उम्मेदवार तथा एमाले महानगरका अध्यक्ष सागर थापाले विराटनगरको विकासका लागि कुशल नेतृत्व छान्न नसक्दा नै देशको दोस्रो ठुलो सहर आज छैटौँ स्थानमा पुगेको बताउनुभयो । उहाँले उद्योगहरूको सहर, मजदुरहरुको सहर आज कता पुग्दै छ भन्दै यहाँ श्रमिकले श्रम गर्ने ठाउँ नपाइरहेको बताउनुभयो । भएका उद्योगहरू धराशायी बन्दै जानु नयाँ उद्योगहरू थपिन नसक्नु दुःखद भएको भन्दै उहाँले आफूहरू नेतृत्वमा आए विराटनगरका उद्योगहरूलाई प्रवर्धन गर्दै श्रमिक मजदुरहरू पनि स–सम्मान बस्न पाउने वातावरणको सृजना गर्ने बताउनुभयो ।

उहाँले विपन्नताको पहिचान गरेर निशुल्क बिमाको व्यवस्था गर्ने बताउनुभयो । ‘हामी स्वास्थ्य शिक्षाको सहज पहुँचमा पुर्‍याउन चाहन्छौँ, थापाले भन्नुभयो,‘धनिक छोराछोरी निजी र गरिबका सरकारीमा पढ्ने वातावरणको अन्त्य गर्न सामुदायिक विद्यालयलाई निजी भन्दा उत्कृष्ट बनाउने अभियानमा लाग्नेछौँ ।’ खेलाडी उत्पादनको लागि उर्वर भूमि विराटनगरले नयाँ खेलाडीको उत्पादन गर्न नसकेको मात्र नभई भएका खेलाडीहरूलाई पनि डम्पिङमा राखेको आरोप लगाउँदै उहाँले आफूहरू नेतृत्वमा आए सम्पूर्ण खेलाडी र खेल क्षेत्रको विकासमा लाग्ने बताउनुभयो ।

विराटनगरको ठुलो समस्या डुबान रहेको चर्चा गर्दै त्यसको दीर्घकालीन समाधान खोजिने र महानगरको पूर्व पश्चिमका रहेका दुई खोलामा आवश्यक तटबन्ध निर्माण गर्ने र मध्ये भागमा रहेको नहरलाई सौन्दर्यकरण गर्ने बताउनुभयो । राजनीतिक रूपमा विराटनगर महानगरपालिका भए पनि आर्थिक र विकासका दृष्टिले हुन सकेको नसकेको तर्क गर्दै उम्मेदवार थापाले भन्नुभयो,‘महानगरभित्र अझै बिजुलीका पोल पुगेका छैनन्, चप्पल खोलेर हिँड्नुपर्ने अवस्था मा छौँ । हामी ५ वर्षभित्र यस्ता समस्या समाधान गर्न चाहन्छौँ ।’ जनताले निर्वाचित गर्ने भनेकै विकासका लागि हो, जनताका आधारभूत चाहना पूरा गर्ने अपेक्षाले हो भन्दै उहाँले महानगरमा रहेका करिब २० हजार सुकुम्वासीको व्यवस्थित आवास बनाउने बताउनुभयो ।

यस्तै महानगरपालिकाको उपमेयरको उम्मेदवार शिल्पा निराला कार्कीले आफूहरू सदैव मजदुरको पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्कीले देशको विकासको लागि, उत्पादनसँग जोडिएर यदि कसैको महत्त्वपूर्ण योगदान छ भने त्यो मजदुरकै रहेको भन्दै उहाँले तर तिनै मजदुर सदियौँदेखि आफ्नो हकअधिकारकै लागि लडिरहनुपर्ने अवस्था रहनु दुःखद रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विराटनगर महानगर औद्योगिक क्षेत्र हो । यहाँको मजदुर आन्दोलनले नै अहिले हामी यहाँ छौँ । तर हिजो स्थानीय सरकारले ती मजदुरहरुको आवाज कत्तिको सुन्यो त्यो तपाईँहरूलाई नै थाहा होला ।’

उहाँले आफूहरू नेतृत्वमा आए सम्पूर्ण मजदुरका आवाजलाई सम्बोधन गर्ने बताउनुभएको छ । उहाँले आफू पनि उद्योग व्यवसायमा जोडिएको मान्छे रहेको बताउँदै आफूले मजदुरका समस्याहरूलाई राम्ररी बुझेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई विश्वास गर्नुहोस्, हामी सदैव मजदुरका पक्षमा उभिने प्रण गर्दछौँ । मजदुर दिवसको सवैमा शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्