सुन्दरहरैँचामा काँग्रेस र माओवादी केन्द्रबिच गठबन्धन


सुन्दरहरैँचा, १७ वैशाख । सुन्दरहरैँचामा काँग्रेस र माओवादी केन्द्रबिच मात्र चुनावी गठबन्धन भएको छ । गठबन्धनमध्येका दुई दलले आज (शनिवार) संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर पार्टीको केन्द्रीय नीतिअनुसार अगाडि बढ्ने प्रतिबद्धता जायर गरेका छन् ।

सत्तारुढ पाँच दलबिच गठबन्धन गरिने बताइए पनि सुन्दरहरैँचामा यी प्रमुख दुई दलबिच मात्र गठबन्धन गरिएको हो । नगर प्रमुख र उपप्रमुखमा काँग्रेस र माओवादी केन्द्रबिच मात्र गठबन्धन भए पनि अन्य पदमा भने आ–आफ्नै तरिकाले उमेद्वारी दिइएको छ ।

नगरप्रमुखमा नेपाली काँग्रेसबाट निवर्तमान नगरप्रमुख शिव प्रसाद ढकाल र माओवादी केन्द्रबाट उपप्रमुखमा नवराज चापागाईँ चुनावी मैदानमा रहेका छन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य एवम् काँग्रेस नेता रमेश जङ्ग रायमाझीले सबै दललाई सँगै लैजाने प्रयत्न रहँदा रहँदै पनि त्यसो गर्न नसकिएको तर अन्तिम समयसम्म पनि सहमतिको सम्भावना कायम रहने बताएका छन् ।

उनले केन्द्रीय नेतृत्वको निर्णयअनुसार नै गठबन्धन गरिएको बताउँदै, अहिले आ–आफ्नै ढङ्गले उमेद्वारी दिए पनि अन्तिमसम्म पनि सहमति हुन सक्ने बताए ।

पत्रकार सम्मेलनमा प्रदेश सांसद सांसद लोकप्रसाद सङ्ग्रौला, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य गोपी अछामी, नेपाली काँग्रेसका जिल्ला सचिव ललित श्रेष्ठ लगायतकाले प्रतिगामी शक्तिलाई परास्त गर्न गठबन्धन गरिएकोले गठबन्धनको भावनाअनुसार काम हुने भन्दै त्यसमा ढुक्क हुने आग्रह गरेका थिए ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता वसन्त भट्टराई, नेपाली काँग्रेसका मोरङ क्षेत्र नं ३ सांसदका प्रत्यासी सुनिला शर्मा, माओवादी केन्द्रका नेता रचना राई , माओवादी केन्द्रका नगर अध्यक्ष दुष्यन्त भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्