सुन्दरहरैँचामा नेपाली काङ्ग्रेसबाट प्रमुखसहित ६१ जनाको उमेद्वारी दर्ता (नामावलीसहित)


मोरङ, १४ वैशाख । स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसबाट सुन्दरहरैँचा नगरपालिकामा प्रमुखसहित ६१ जनाको उमेद्वारी दर्ता भएको छ । उपप्रमुखबाहेकका सबै वडामा काँग्रेसको उमेद्वारी परेको हो ।

गठबन्धनका कारण काँग्रेसले उपप्रमुखमा भने उमेद्वारी दर्ता गरेको छैन । पार्टीले नगरप्रमुखमा शिवप्रसाद ढकाल र उपप्रमुखमा ईशवरवतीकुमारी माझीलाई अगाडि सारेको बताइए पनि निर्वाचन आयोगको नामावलीमा भने उपप्रमुखको उमेद्वारी परेको देखिँदैन ।

गठबन्धन गरेरै उमेद्वारी दिने बताइरहँदा बाँकी वडामा सहमति नभए पछि प्रमुख र उपप्रमुख बाहेकका पदमा आ–आफ्नै ढङ्गले उमेद्वारी दर्ता गरिएको देखिन्छ । उपप्रमुखमा भने माओवादी केन्द्रबाट उमेद्वारी दिएका नवराज चापागाईँ नै गठबन्धनको आधिकारिक उमेद्वार बताइए पनि उता गठबन्धनकै अर्को दल एकीकृत समाजवादीबाट महेश आचार्यको सोही पदमा उमेद्वारी परेको देखिन्छ । तर छलफलकै क्रममा रहेकाले यी सबै समस्या समाधान हुने र गठबन्धनबाटै निर्वाचन लड्न सक्नेतर्फ वार्ता अघि बढिरहेको निकट श्रोत बताउँछन् ।

१२ वटा वडा रहेको सुन्दररहौचामा नेपाली काँग्रेसबाट वडा अध्यक्षका रूपमा १ नं वडामा राम विश्वास, २ मा विवश प्रधान, ३ मा केन्द्रदीप पोख्रेल, ४ मा कैलाश बस्नेत, ५ मा रामप्रसाद रिजाल, ६ मा सन्तोष लिङ्देन, ७ मा चैतन्यप्रसाद सिटौला, ८ मा गजेन्द्र भट्टराई, ९ मा प्रकाश श्रेष्ठ, १० मा गीता सोढारी, ११ मा हरि बस्नेत र १२ मा सुजू थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्