हत्या आरोपमा सुन्दरहरैँचाबाट ३५ वर्षीय युवा पक्राउ


बेलबारी, ४ वैशाख । छिमेकीको हत्याको आरोपमा मोरङको सुन्दरहरैँचाबाट प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–६ जुलबी चोकका ३५ वर्षीय मणिकुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले कुटपिट गरेर स्थानीय ४० वर्षीय मानबहादुर तामाङको हत्या गरेको आरोपमा मणिकुमारलाई पक्राउ गरिएको जानकारी दिए । मणिकुमारले मानबहादुरलाई गत चैत ३० गते राति ९ बजेतिर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठकाअनुसार जग्गाको विषयमा आफ्ना बुवा ६४ वर्षीय देवीप्रसाद तामाङसँग झगडा गरेको भन्दै मणिकुमारले चिर्पटले टाउकोमा हानेर मानबहादुरलाई घाइते बनाएका थिए । उपचारको क्रममा मानबहादुरको विराटनगरको न्युरो अस्पतालमा शुक्रवार तामाङको मृत्यु भएको हो ।

पक्राउ परेका मणिकुमारविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन लागिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्