सुन्दरहरैँचाको मेयरमा डा.प्रकाश भट्टराईको उमेद्वारी घोषणा


सुन्दरहरैँचा, २३ चैत । सुन्दरहरैँचाको मेयर पदका लागि स्थानीय डा. प्रकाश भट्टराईले स्वतन्त्र उमेद्वार दिने घोषणा गरेका छन् । सुन्दरहरैँचामा आज पत्रकार सम्मेलन गरेर उनले आफ्नो उमेद्वारीको घोषणा गरेका हुन् ।

शान्ति तथा द्वन्द्व अध्ययन विषयमा अमेरिका र न्युजिल्याण्डबाट उच्च शिक्षा लिएका भट्टराई एक अनुसन्धान विज्ञका रूपमा चिनिन्छन् । सङ्घीयता, स्थानीय शासन प्रणाली, द्वन्द्व व्यवस्थापन, सुशासन लगायतका क्षेत्रमा लामो समय देखि काम गरिरहेका, एक अनुभवी मानिने भट्टराई आफूसँग भएको अनुभव र विद्वतालाई प्रयोग गरेर सुन्दरहरैँचालाई देशकै नमुना नगर बनाउने योजना आफूसँग भएकोले उनले ती योजना कार्यान्वयन गर्ने अवसर प्रदान गर्न नगरवासीसँग अनुरोध गरेका छन् ।

राजनीति पार्टीको बोलवाला भइरहेको बेलामा स्वतन्त्र उमेद्वार बनेर विजय हासिल गर्नु र पछि काम गर्नु त्यतिकै चुनौतीपूर्ण काम भए पनि यो चुनौतीको सामना गर्न आफू तयार रहेको बताउँछन् । उनी त्यो चुनौतीको पहाडलाई भत्काउँदै अगाडि बढ्ने आफूसँग हिम्मत भएको बताउँछन् ।

सुन्दरहरैँचा वडा नं ५ बलियाका स्थायी बासिन्दा रहेका भट्टराईले पत्रकार सम्मेलनमा भने ‘मैले यो अवधिमा जेजति विज्ञता हासिल गरेको छु । म त्यसलाई आफ्नै स्थानमा प्रयोग गर्न चाहन्छु ।’

अनुसन्धानका क्षेत्रमा सफलता हासिल गरेका उनी सही व्यक्तको छनोट हुन नसक्ता नगरवासीले दुःख पाएको बताउँछन् । विज्ञ व्यक्तिको विजयले मात्र नगरलाई सही अर्थमा समृद्ध बनाउन सकिने र त्यो योजना आफूसँग भएको उनको दाबी रहेको छ ।

उनी सुन्दरहरैँचामा राजनैतिक कारणले समाजमा दुरी बढ्दै गएको यसलाई घटाउन स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहने भए पनि आजसम्म त्यस्तो हुन नसकेको उनको ठहर रहेको छ ।

स्थानीय सरकार प्रतिपक्षविहीन हुनाले सोचेजस्तो काम हुन नसकेको, त्यसलाई घच्घच्याउँने काम नागरिक समाजका मानिसले पनि गर्न नसकेको उनी बताउँछन् ।

उनी भन्छन् ‘सिभिल सोसाइटीका मानिसहरू पनि कुनै न कुनै राजनैतिक पार्टीमै अन्तरघुलित भएका छन् । जसले गर्दा उनीहरूको भूमिका कमजोर छ ।’

पछिल्लो समय निर्वाचनका नाममा पैसाको खोलो बग्ने गरेको छ । निर्वाचन आयोगले मेयर पदका उमेद्वारले ४ लाख ५० हजार खर्च सीमा तोकेता पनि यहाँ करौडौ रुपैयाँ खर्च हुने गर्छ । तर आफू भने निर्वाचन आयोगले तोकेको सीमाभन्दा पनि कम खर्चमा भोट क्याम्पेन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गर्न चाहेको भट्टराई बताउँछन् । साथै उनले आफूले निर्वाचनका समयमा गरेको खर्चलाई सार्वजनिक गर्ने प्रतिविद्धतासमेत गरेका छन् ।

राजनैतिक पार्टीको कामले जनता निरास भएकाले आफ्नो उमेद्वारी त्यसकै विकल्पको रूपमा आएको बताउने भट्टराईले सुसान, सन्तुलित विकास, समावेशिता र सेवक सरकार चार वटा सलाई जोड दिएका छन् ।
उनले १० बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन् । आफ्नो घोषणा पत्रमा भट्टराईले आफूले गर्ने कामकोसमेत उल्लेख गरेको बताउँछन् ।

साथै आफूले गर्न सक्ने कुरालाई मात्र घोषणा पत्रमा उल्लेख गरेको उनी बताउँछन् । आफ्नो उमेद्वारी अहिले सामान्यजस्तो देखिए पनि चुनावको समयसम्म आँधीबेहरी ल्याउने उनको भनाइ रहेको छ ।

पत्रकार सम्मेलनमा महिला अधिकारकर्मी शोभा बजगाईँ, गुरुकुल पाठशाला बेलबारीका प्रिन्सिपल कुमार खुलाल लगायत स्थानीयहरुकोसमेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्