प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले सोलु करिडोर उद्घाटन गर्ने


काठमाडौँ, १८ चैत । सोलु करिडोर प्रसारण लाइनको शनिवार उद्घाटन गरिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रूपमा यो प्रसारण लाइनको उद्घाटन गर्न लागेका हुन् ।

आज शुक्रवार प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका बनेको छ । यही क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीले श्रव्य दृश्यका माध्यमबाट करिडोरको उद्घाटन गर्न लागेका हुन् ।

गत महिना मात्रै निर्माण सम्पन्न भएको यो परियोजनाको उद्घाटन समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी हुने कार्यक्रम रहेको छ । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको यसअघि नै परीक्षण गरिसकिएको छ ।

यो योजना नेपाल सरकारको लगानी र भारतीय निर्यातआयात (एक्जिम) बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माण सम्पन्न भएको हो । लामो विवाद, स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्यासँग जुझ्दै यो योजना पुरा भएको हो ।

सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बूको दूध कुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ । यस्तै प्रसारण लाइनमा टावरको सङ्ख्या ३०२ वटा छ ।
यस सोलु करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत तिलङ्गामा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, ८ एमभीए क्षमताको सबस्टेसन निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्