प्रधानमन्त्री देउवाको भारत भ्रमण हुँदै


काठमाडौँ, १५ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी देश भारत भ्रमण गर्ने भएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (बुधवार) भर्चुअल रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा पोखरेलले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै शिखर सम्मेलनमा बिमस्टेकको बडापत्र, आपराधिक मामिलामा आवश्यक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि, कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापनासम्बन्धी र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोग सम्बन्धमा बिमस्टेक समझदारी पत्रमा हस्ताक्षर हुने नेपालको अपेक्षा गरेको बताइन् ।

परराष्ट्र मन्त्री डा. नारायण खड्का यतिखेर श्रीलङ्कामा रहेको र उनले भारत तथा श्रीलङ्काका समकक्षीसँग साइडलाइन वार्ता गरिसकेका छन् ।

बिमस्टेकको पाँचौँ शिखर सम्मेलन चैत्र १८ देखि २० गते सम्म हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्