बेलबारी ६ को वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र भवनको एकै दिन समुद्घाटन सम्पन्न


बेलबारी, चैत १२ । बेलबारी वडा नं. ६ को नव निर्मित वडा कार्यालय तथा आधारभूत स्वास्थ्य केन्द्र भवनको समुद्घाटन एकै दिन सम्पन्न भएको छ । शुक्रवार बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले दुवै भवनको उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले वडा कार्यालय तथा स्वास्थ्य केन्द्रको भवन निर्माणमा स्थानीयको ठुलो योगदान रहेको बताउँदै धन्यवाद व्यक्त गरेका छन् । वडा कार्यालय भवन निर्माणको लागि जग्गा दान गर्ने स्थानीय डिल्ली बहादुर कार्की, विराटनगर निवासी विशाल बस्नेत र आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणको लागि जग्गादान गर्ने मनकुमारी राई तथा उनका परिवारलाई सुवेदीले धन्यवाद प्रदान गरेका हुन ।

सुवेदी जनतालाई गरेको प्रतिबद्धता अधिकांश पुरा गर्न सफल भएको जनाउँदै, कोभिड तथा विभिन्न कारण केही पूर्ण नभए पनि पुरा गर्ने सक्दो जोड गरिरहेको बताए । विकास कार्य योजना तथा सामाजिक विकासका हरेक कार्य नगरपालिकाको योजना भए पनि जनताको सहयोग र सहभागिताको कारण सफल भएको बताउँदै सुवेदीले स्थानीयलाई धन्यवाद पनि प्रदान गरेका छन् ।

नगर प्रमुख सुवेदी, उपप्रमुख पराजुली साथै वडा नं. ६ का वडाध्यक्ष उद्य बहादुर राईले जग्गादाताहरूलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका छन् । सम्मान प्रदान गर्दै उपप्रमुख पराजुलीले जग्गादाताहरूलाई धन्यवाद प्रदान गरिन । पराजुलीले हिजो जनप्रतिनिधिहरूले गरेको प्रतिबद्धता आज पुरा हुँदै गरेको बताइन ।

बेलबारीमा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यमा वडा नं.६ पहिलो हो । वडावासीलाई गरेको प्रतिबद्धता पुरा गर्ने कार्यमा पनि पहिलो हुने कोसिस साथै हामीले गरिरह्यौ, वडाध्यक्ष राईले भने । वडा कार्यालयको लागि जग्गा दाता कार्की र बस्नेतले १–१ कट्ठा जग्गा प्रदान गरेको र आधारभूत स्वास्थ्य केन्द्रको लागि राईले १ कट्ठा जग्गा प्रदान गरेको जनकारी गराउँदै सबैलाई धन्यवाद प्रदान गरेका छन् । सोही दिन बेलबारी ६ सोमबारे बजार स्थित दुर्गा मन्दिरको जमिनमा सामुदायिक भवनको शिलान्यास कार्य पनि सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्