बेलबारी नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन


मोरङ, ८ चैत । बेलबारी नगरपालिकाको प्रशासनिक भवन उद्घाटन भएको छ । पूर्व मन्त्री तथा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य भानुभक्त ढकाल र नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा संयुक्त रूपमा बेलबारी वडा नं.१ मा नव निर्मित भवनको समुद्घाटन भएको हो ।

बेलबारी नगरपालिकाको भवन उद्घाटन गर्दै सांसद ढकालले भावी नेतृत्वलाई अभाव नहुने सुनिश्चित प्रमुख ज्ञानेन्द्र सुवेदीको नेतृत्वमा भएको बताउँदै बधाई तथा धन्यवाद प्रदान गरेका छन् । उनले भने, ‘सुन्दरहरैचामा बल्ल प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा शिलान्यास मात्र हुँदै छ । पथरीमा वर कि परा बनाउने भनेर अझै पनि ठाउँको यकिन भएको छैन । बेशाक ३० मा निर्वाचन घोषण भएको छ जो आए पनि अभावमा काम गर्न पर्दैन भन्ने सुनिश्चित दिनु भो यसको निम्ति धन्यवाद व्यक्त गर्दछु ।’ सांसद ढकालले ३ नं। क्षेत्रमा सुकुम्वासी समस्या प्रमुख रहेको बताउँदै, उनी कानुन मन्त्री हुँदा सुकुम्वासी समस्या समाधान गर्नको लागि कानुन बनाएर विरोधको बिच पनि पास गर्न सफल भएको स्मरण गराए । उनले भने, ‘सुकुम्वासी समाधानको लागि आयोग बनाइयो तर सरकार परिवर्तनसँगै कार्यान्वयन हुन सकेन । ओली सरकार नढलेको भए यस बेला सम्म जनताको हात हातमा लालपुर्जा प्राप्त भइसक्ने थियो ।’

प्रतिनिधि सांसद अमनलाल मोदीले बेलबारी नगरपालिकाको नव निर्मित भवन सुन्दर रहेको बताउँदै बधाई व्यक्त गरेका छन् । तर काम सुन्दर नभए जति नै भवन सुन्दर भए पनि अर्थ नरहने बताए । गाउँ गाउँमा सिंहदरबार बनाउने हिजो देखेको सपना पुरा भएको बताउँदै सांसद मोदीले खुसी व्यक्त गरे । उनले जुनै पार्टीबाट नेतृत्व गरे पनि जनप्रतिनिधि भए पनि सबैको साझा बन्नु पर्ने सुझाएका छन् । जनताको मत कुनै पार्टीलाई स्थायित्व नहुने बताउँदै , राम्रो गरे जनताले जिताउने नगरे हराउने भएकोले आज कुनै ठुलो पार्टी हुँदैमा घमन्ड गर्न नहुने बताए ।

प्रदेश सांसद राजकुमार ओझाले कार्यक्रममा बधाई तथा शुभकामना प्रदान गर्दै जनतालाई दिने सेवा सहज साथै समान रूपले गर्न आग्रह गरेका छन् । कोभिडका कारण निर्वाचन ताका बोलेका सबै कुरा पुरा गर्न अवरोध उत्पन्न भए पनि अधिकांश काम सम्पन्न भइसेकेको र जारी रहेको बताए ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले सीमित स्रोतसाधनको बाबजुद पनि जनतालाई सेवा प्रभाव गर्ने कार्यमा कुनै कन्जुसाई नगरेको बताए । अभावमा पनि विकास निर्माणको कार्यलाई निरन्तरता दिइरहेको र त्यो जनतालाई महसुस गराउन सकेको बताएका छन् । यस अघि नगरपालिकाको प्रशासनिक काम बेलबारीमा तीनमा रहेको कार्यालयबाट भइरहेको थियो । यो कार्यालयबाट ३ र १ नं वडाकोले सेवा प्रवाह भइरहे पनि १ नं वडाकोसमेत आफ्नै नयाँ वडा कार्यालय भवन निर्माण भई उद्घाटनको तयारी रहेकोले आगामी दिनमा भने ३ नं वडाको मात्र सेवा प्रवाह हुनेछ ।

कार्यक्रममा पार्टीका प्रतिनिधि, ११ वटै वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरू, स्थानीय संघ संस्थाका प्रतिनिधि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्